तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा एक हजार छ सय बढीको निःशुल्क आँखा परीक्षण

सल्यान । जिल्लाको विभिन्न तीन स्थानमा भएको आँखा शिविरबाट एक हजार बढीले निःशुल्क आँखाको जाँच गराएका छन् ।

सल्यान आँखा उपचार केन्द्र र स्थानीय तहको समन्वयमा भएको शिविरमा १ हजार ६ सय ३७ जनाको आँखा जाँच गरिएको छ ।

सल्यान आँखा उपचार केन्द्रका अनुसार शारदा नगरपालिकामा ९ सय ३, बागचौर नगरपालिकामा ५ सय १७ र दार्मा गाउँपालिकामा २ सय १७ जनाको निःशुल्क आँखा चेकजाँच गरिएको छ । बागचौर नगरपालिकामा ५ सय १७ जनाको आँखा चेकजाँच गर्दा १ सय ३४ जनामा मोतिया विन्दुको समस्या देखिएको र सबैको उपचार समेत गरिएको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम बागचौरका भरत देवकोटाले जानकारी दिनुभयो ।

दार्मा गाउँपालिकामा २ सय १७ जनाको चेकजाँच गर्दा ३४ जनाको मोतियाविन्दूको अप्रेसनका लागि रिफर गरिएको दार्मा गाउँपालिकाले जनाएको छ ।

आँखाको समस्या भएका आधाभन्दा बढीलाई ‘म मोतियाविन्दुको बिरामी हुँ’ भन्ने ज्ञानसमेत नहुने गरेको सल्यान आँखा उपचार केन्द्र शितलपाटी प्रमुख नबिना चौधरीले बताउनुभयो । सर्वसाधारणमा चेतना फैलाएर आँखाको परीक्षण तथा उपचारका लागि सबैलाई प्रेरित गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

उपचार गरे मात्रै आँखालाई सुरक्षित राख्न सकिन्छ भन्ने सन्देश सबैमा पुगेमा आँखासम्बन्धी रोग न्यूनीकरण र त्यसबाट हुने अन्धोपना रोकथाममा मद्दत पुग्ने जानकारी उहाँले दिनुभयो ।

गाउँघरमै पुनः आँखाको ज्योति पाउँदा निकै खुशी लागेको बागचौर नगरपालिका १२ वाफूखोलाकी ८० वर्षीया जयकली ओलीले बताउनुभयो ।

८८ वर्षीय रुपलाल ओली पनि बुढेसकालमा यातायातमा आवतजावत गर्न गाह्रो मानेर घरैमा बस्दै आइरहनुभएको थियो । तर घर आँगनमै शिविर चल्दा निकै खुशी लागेको ओलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button