तपाईँ सुन्दै हुनुहुन्छः

युवाहरूलाई रोजगार बनाउने उद्देश्यले मेलाको आयोजना हुने

विराटनगर । बेरोजगार युवाहरूलाई रोजगार बनाउने उद्देश्यले मोरङको कटहरी गाउँपालिकामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना हुने भएको छ ।

कटहरी गाउँपालिकाको आयोजनमा भोलि मङ्सिर १२ गते सो पालिकामा रहेको फलफूल तथा कृषि थोक बजारमा मेला हुन लागेको हो ।

बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आयोजना हुने मेलामा रोजगारदाता र बेरोजगार युवालाई समन्वय गराउँदै रोजगारी प्रदान गर्ने लक्ष्य लिइएको पालिका अध्यक्ष देवराज चौधरीले जानकारी दिनुभयो ।

‘समृद्ध नेपाल र सुखी नेपाली’को अवधारणालाई आत्मसात् गर्दै मेलाको आयोजन गर्न लागिएको र मेलाबाट सयौँ युवाहरूलाई रोजगारी पाउन सहज हुने उहाँको भनाई छ ।

एक दिने मेलामा सीपमूलक तालिम, कृषिसम्बन्धी परामर्श तथा रोजगारीसम्बन्धी सूचनाका लागि युवा र रोजगार दाताहरूबिच प्रत्यक्ष समन्वय गराइने जनाइएको छ ।

स्थानीय जनशक्तिलाई स्थानीय स्तरमा रोजगारी उपलब्ध गराउन लागिएको मेलामा २५ सयभन्दा बढीको सहभागिता रहने कटहरी गाउँपालिकाका अध्यक्ष चौधरीले बताउनुभयो ।

मेलामा सहभागी युवाहरूलाई गाउँपालिकाले विभिन्न प्रकारका सीपमूलक तालिम प्रदान गरी उनीहरुलाई दक्ष बनाउँदै पालिकामा रहेका उद्योगहरूमा समेत रोजगारीका लागि पहल गरिने जनाइएको छ । उक्त पालिकामा साना र ठुला गरी ६० वटा भन्दा बढी उद्योगहरू रहेका छन् ।

मेलामा प्रदेश १ का उद्योगी व्यवसायीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । मेलाले कामका लागि बिदेसिन लागेका युवाहरूलाई समेत स्वदेशमै काम गर्न मद्दत पुग्ने जनाइको छ ।

मेलाले यस क्षेत्रका जनशक्तिलाई स्थानीय उद्योग, व्यवसाय, बैङ्किङ, पर्यटन तथा होटल व्यवसाय लगायतका क्षेत्रमा रोजगारी उपलब्ध गराउने सहयोग गर्ने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button