१३ जना पेशेवर चोर एकै रात पक्राउ
वीरगञ्ज । चाडपर्वको मौका छोपी वीरगञ्जमा चोरी गर्ने १३ जना पेशेवर चोरलाई जिल्ला प्रहरी कार्यालय पर्साले गएराति पक्राउ गरेको छ ।
भारतबाट आएका पेशेवर चोरहरूले वीरगञ्जमा बसोबास गर्ने तर छठ पर्व मनाउन गाउँ गएका व्यक्तिहरूको घरमा लुटपाट गर्ने, तोडफोड गर्ने, मोटरसाइकल चोर्ने लगायतका कसुरमा संलग्न भएको आरोपमा १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक गिरीले बताउनुभयो ।
गएराति मात्रै वडा प्रहरी कार्यालय बिर्ताले रेलवे रोडको विभिन्न स्थानबाट चोरी गरिरहेको अवस्थामा ६ जना चोरहरूलाई पक्राउ गरेको छ ।
चाडबाडको मौकामा मानिस नभएको घरमा पहिलादेखि नै निगरानी गरि रातको समयमा पेशेवर चोरहरू घरघरमा चोरी गर्न आउन थालेपछि नगर क्षेत्रमा रातको समयमा प्रहरीको सुरक्षालाई चोरहरूले चुनौती दिएका छन् ।
एकै रातमा १ दर्जन भन्दा बढी स्थानबाट चोर समातिनुले पनि चोरको बिगबिगी वीरगञ्जमा बढ्दै गएको पुष्टि भएको छ ।







प्रतिक्रिया राख्नुहोस्