पोखरामा ३९ भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण
कास्की । कास्कीको पोखरामा आज ३९ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपूर्जा) वितरण गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं. १४, १९, २८ र ३१ का गरेर ३९ भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले अहिलेको सरकारले राष्ट्रिय भूमि आयोग मार्फत वितरण गरिरहेको लालपूर्जा खारेज नहुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

उहाँले सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण गरिएको र यो अभियान निरन्तर जारी रहने बताउनुभयो ।
मन्त्री श्रेष्ठले अबको २ वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरिसक्ने गरी सरकार योजना बनाएर अगाडी बढेका र यस अभियानका कोही पनि वास्तविक भूमिहीन सुकुम्वासी भूमि पाउनबाट वञ्चित हुन नहुने बताउनुभयो ।

उहाँले भूमिको उचित प्रयोगका लागि भू उपयोग नियमावली कार्यान्वयनमा ल्याइएको, भूमि र भूमिको समुचित प्रयोग गरेर सहकारीको माध्यमबाट उत्पादन र उत्पादकत्व बढाएर स्वाधीन अर्थतन्त्रको निर्माण गर्ने दिशामा मुलुक अगाडी बढिसकेको भन्दै छिटो जग्गाको वर्गीकरण गर्न स्थानीय तहहरूलाई आग्रह समेत गर्नुभयो ।
उहाँले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने गरी योजनाबद्ध रुपमा सरकार अगाडी बढेको पनि बताउनुभयो ।

मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न उनीहरूको पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुनर्स्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडी बढिसकेको जानकारी पनि दिनुभयो ।
मन्त्री श्रेष्ठले भूमिसँग जोडिएका समस्या समाधान गर्न भूमिको क्षेत्रमा कार्यरत सबै सचेत बन्नुपर्नेमा जोड दिँदै संविधानमा लिपिबद्ध नागरिकका हक कार्यान्वयन गर्न कसैले पनि बाधा सिर्जना गर्न नहुने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्