वाणिज्य बैङ्कद्वारा मिस नेपाल जोशीलाई व्यापार प्रवर्द्धन दूत नियुक्त
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आफ्नो व्यवसाय प्रवर्द्धनको लागि मिस नेपाल वर्ल्ड–२०२२ लाई सोमबार एक कार्यक्रमबीच व्यापार प्रवर्द्धन दूत नियुक्त गरेको छ ।

राष्ट्रिय वाणिज्य बैङ्क र दी हिडन ट्रेजर प्रा.लि.बीच भएको सम्झौतामा बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दिवाकर राजकर्णिकारले हस्ताक्षर गर्नुभएको छ ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैङ्कले प्रवाह गरिरहेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा युवा वर्गका ग्राहकहरूमा थप जानकारी दिई व्यवसायलाई प्रवर्द्धन गर्नको निमित्त बैङ्कले ब्रान्ड एम्बासडरमा मिस नेपाल वर्ल्ड २०२२ प्रियङ्का रानी जोशी लाई नियुक्त गरिएको बताउनुभयो ।
कार्यक्रममा दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दिवाकर राजकर्णिकारले सम्झौताले दुवै संस्थाको उज्ज्वल छवि निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो ।
मिस नेपाल वर्ल्ड २०२२ प्रियङ्का रानी जोशीले सरकारी स्वामित्वमा रहेको वाणिज्य बैङ्कको व्यापार प्रवर्द्धन दूत हुन पाउँदा खुसी लागेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्