तपाईँ सुन्दै हुनुहुन्छः

विशेष समितिले सीसीटीभी फुटेजबारे फरेन्सिक विज्ञहरूसँग परामर्श गर्ने

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रहरीबाट प्राप्त सीसीटीभी फुटेजसहितको विवरणका सम्बन्धमा फरेन्सिक विज्ञहरूसँग परामर्श गर्ने भएको छ ।

संसदीय विशेष समितिको आज बसेको बैठकमा समितिका सदस्यहरुले प्रहरीले सिलबन्दी गरेर पठाएको सिसिटिभी फुटेज हेर्नुभएको थियो ।  

सीसीटिभी फुटेजमा गत जेठ १४ गतेकै भिडियो छ कि छैन भनेर फरेन्सिक ल्याबका सम्बन्धित विज्ञहरूसँग आज दिउँसो ४ बजे परामर्श लिइने समितिका सचिव डा.सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राती अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको छ । 

मन्त्रालयले त्यस दिनको सीसीटीभी फुटेज डिलिट भएको जवाफ दिएपछि संसदीय समितिले रिकभरका लागि नेपाल प्रहरीसँग सहयोग लिएको थियो ।

बजेटमा करको दर हेरफेर गरिएको भन्ने विषय सार्वजनिक भएपछि सभामुख अग्नि सापकोटाले गत असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button