‘मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यावसायिक पत्रकारिताको आवश्यकता’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभएको छ ।

सञ्चार मन्त्रालयमा आज आयोजित ‘ज्येष्ठ पत्रकार वृत्ति वितरण तथा पुस्तक विमोचन’ कार्यक्रममा मन्त्री कार्कीले पत्रकारिता आवाजविहीनहरूको आवाज बन्न सक्नुपर्ने धारणा राख्नुभयो ।
सञ्चारमन्त्री कार्कीले मर्यादित प्रेस, अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतालाई अक्षुण्ण राख्नका निमित्त संविधानको परिकल्पना साकार एवम् परिष्कृत बनाउन वर्तमान सरकार पत्रकार र प्रेस जगतको पक्षमा रहेको स्पष्ट पार्नुभयो । विगतमा मुलुक दमन र उत्पीडनमा रहेका बेला पत्रकारहरूले लोकतन्त्रको माध्यमद्वारा देश समृद्धिको दिशातर्फ अगाडि बढ्नुपर्छ भन्ने मूल ध्येयका साथ अघि बढेको स्मरण गर्नुहुँदै उहाँले अहिलेको सन्दर्भमा मर्यादित र जिम्मेवार पत्रकारिताको माध्यमबाट विश्वास आर्जन गर्नुपर्ने दायित्व बढेको उल्लेख गर्नुभयो ।
सञ्चारमन्त्री कार्कीले भन्नुभयो, “यो सम्मान केवल सम्मान मात्रै हैन तर, भोलिका दिनमा यसलाई अभिवृद्धि गर्दै कमसेकम जीवनको उत्तरार्द्धमा सरकार मेरो साथमा छ भन्ने सन्देश दिन सकियो भने अझ पत्रकारिता निर्भीकताका साथ अगाडि बढ्छ र यस दिशामा अग्रसर हुनुपर्छ ।”
दक्षिण एसियाका धेरै मुलुकमा पनि यो सुविधा दिइने गरेको र नेपालका निम्ति नयाँ र प्रेरणादायी काम भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले पत्रकार वृत्ति वितरणमा सबै एक भएर अगाडि बढेको खण्डमा अहिले सम्मानको रुपमा प्राप्त भएको वृत्ति कोषलाई भोलिका दिनमा जीविकोपार्जनका निमित्त पनि सहयोग सिद्ध हुनसक्ने दिशातर्फ अग्रसर हुन अनुरोध गर्नुभयो ।
वृत्ति कोषले पत्रकारिता पेसाको सम्मान
सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री कार्कीले ज्येष्ठ पत्रकारलाई वृत्ति वितरणको नयाँ कामको प्रारम्भ भएबाट पत्रकारिता पेसाप्रति राज्यको सम्मान बढेको बताउनुभयो । उहाँले नयाँ काम प्रारम्भ भएको र यसमा सन्तोष गर्नुपर्ने ठाउँ रहेको चर्चा गर्नुभयो ।
सञ्चारमन्त्री कार्कीले सबै मिलेर अहिलेका चुनौतीहरूको सामना गर्नसके आगामी १० वर्षभित्र नेपाललाई एसियाको धनी देशको रुपमा विकसित गर्न सकिने धारणा राख्नुभयो ।
सञ्चार मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले विगत लामो समयदेखि थाती रहेको ज्येष्ठ पत्रकार वृत्ति वितरण वर्तमान सञ्चार मन्त्रीको नेतृत्वमा मापदण्ड, कार्यविधि तयार गरेर सोही आधारमा दिने कार्य प्रारम्भ भएको भन्नुहुँदै यसले पत्रकारिता क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले ३० वर्ष निरन्तर पत्रकारिता गरेका र ६५ वर्ष उमेर पूरा भएका पत्रकारलाई ज्येष्ठ पत्रकार वृत्ति वितरण गरिने जानकारी दिनुभयो । उहाँले पत्रकार वृत्ति कोषलाई समयसापेक्ष बनाएर लैजाने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता र पत्रकारको सम्मानमा राज्यको तर्फबाट राम्रो कामको सुरुआत भएको भन्दै नयाँ अभ्यासको नेतृत्व गर्नुहुने सञ्चारमन्त्री नेतृत्वको टिमलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले ज्येष्ठ पत्रकारलाई वृत्ति वितरणको प्रारम्भले पत्रकारिता क्षेत्रलाई राज्यले चिन्ने अवसर मिलेको भन्दै महासङ्घले लामो समयदेखि उठाउँदै आएको मुद्दा सम्बोधन भएकोमा सरकार र उक्त कार्यको नेतृत्व गर्नुहुने सञ्चारमन्त्री सहितको टिमलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
वृत्ति कोषका सदस्य एवं पत्रकार गोपाल बुढाथोकीले लोकतन्त्रको सुन्दर पक्ष श्रमजीवी पत्रकारलाई राज्यको तर्फबाट वृत्ति कोषको सुरुआत गरिनु सिङ्गो पत्रकारिता जगत्का लागि ऐतिहासिक अवसर भएको बताउनुभयो ।
पत्रकार मनऋषि धितालले सरकारको तर्फबाट पत्रकारका लागि गरिएको नयाँ कार्यको प्रारम्भले पत्रकारिता क्षेत्रलाई उत्साहित बनाएको बताउनुभयो ।
तीन पत्रकारलाई वृत्ति वितरण
सरकारले पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान गरेका तीन पत्रकारलाई ज्येष्ठ पत्रकार वृत्ति वितरण गरेको छ ।

पत्रकारहरू चिरञ्जीवी अर्याल, निरोधराज पाण्डे र पद्मभक्त खरेललाई पहिलो वृत्ति प्रदान गरिएको हो । सञ्चारमन्त्री कार्कीले उक्त वृत्ति रकमबापतको चेक प्रदान गरेर ज्येष्ठ पत्रकार वृत्ति वितरण प्रारम्भ गर्नुभएको हो ।

पहिलो वृत्ति पाउने ७६ वर्षीया पत्रकार अर्यालले रु पाँच हजार, पाण्डेलाई रु सात हजार र ७७ वर्षीय खरेललाई रु १० हजार प्रदान गरिएको हो । उहाँहरूलाई साउन महिनादेखि हरेक महिना बैङ्क खातामा जम्मा हुने गरी वृत्ति रकम उपलब्ध गराइने सूचना तथा प्रसारण विभागले जनाएको छ ।

त्यस अवसरमा सञ्चारमन्त्री कार्कीले विभागद्वारा प्रकाशित नेपाल द्धैमासिक पत्रकारिता विशेषाङ्क, नेपाल परिचय र नेपालको सार्वजनिक प्रशासन र व्यवस्थापन पुस्तक विमोचन गर्नुभएको थियो ।
रासस







प्रतिक्रिया राख्नुहोस्