तपाईँ सुन्दै हुनुहुन्छः

नेपालका सांस्कृतिक सम्पदा राज्यका अमूल्य सम्पत्ति हुन : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुजातीय र बहुभाषिक नेपालको सङ्गीत तथा नाट्य क्षेत्रको संरक्षण तथा विकास गरी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ । 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२ औँ प्रज्ञा सभाको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले भौगोलिक र जैविक मात्र नभएर सांस्कृतिक विविधतामा समेत नेपाल धनी भएकाले सम्पदाहरू  राज्यका अमुल्य सम्पत्ति भएको बताउनुभयो । 

प्रधानमन्त्री देउवाले सबै जाति तथा समुदायको भाषा, संस्कृति तथा परम्पराको विकास गर्नुपर्ने र छरिएर रहेका त्यस्ता सम्पदाहरूको खोज, अनुसन्धान गरी अभिलेखीकरण गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपालको सांस्कृतिक विविधताले राष्ट्रिय एकतालाई थप बलियो बनाउने भएकाले राष्ट्रका गहना भाषा, कला, नाट्य, साहित्य, सर्जक, संस्कार र संस्कृतिलाई प्रोत्साहन तथा सम्मान गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रधानमन्त्री देउवाले बताउनुभयो ।  

कार्यक्रममा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथा तथा शान्तिका प्रवर्द्धक गौतमवुद्धको देश हुनुका साथै विविधतामा एकता नै  मुलुकको मौलिकता भएकाले तिनको संरक्षण तथा विकासमा सरकार सधैँ लागिपर्ने बताउनुभयो । 

मन्त्री श्रेष्ठले सङ्गीत तथा कला क्षेत्रले मानिसको ऊर्जालाई सधैँ सृजनात्मक बनाउने भएकाले सङ्गीत तथा नाट्य क्षेत्रका सर्जक तथा साधकहरूको सम्मान गर्नु राज्यको दायित्व भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button