सुनसरीका विभिन्न स्थान डुबानमा
सुनसरी । अविरल वर्षापछि सुनसरीका विभिन्न स्थान डुबानमा परेका छन् ।
इनरुवा नगरपालिकाको वडा नम्बर ३, ४, ९ र १० नम्बर वडाको सुनसरी खोला छेउका बस्ती डुबानमा परेको स्थानीय विष्णु उराँवले जानकारी दिनुभयो ।

पूर्वा वडा सदस्य समेत रहनुभएका उराँवका अनुसार खिखरि टोल, नबिया कुपी टोल, शुक्रबारे टोल र मलाहा टोलका बस्तीहरू डुबानमा परेका हुन् ।
उता गडन तथा सुनसरी खोलाले कटान तीव्र पारेका छन् । सुनसरी, गडन, धन उष्णा, बुढी र मरिया खोलामा आएको बाढीले नदी आसपासका बासिन्दाहरूलाई प्रभावित पारेको छ ।
वर्षाले केही ठाउँमा डुबान भएको खबर आएपछि विस्थापित भएको र अन्य कुनै मानवीय वा भौतिक क्षतिको विवरण नआएको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले जनाकारी दिनुभयो ।

यस्तै, इटहरीको बूढी खोलामा पानीको सतह बढेको इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीले जानकारी दिनुभयो ।
यस्तै, दुहबी नगरपालिका वडा नम्बर ४ ढकिबुन्ना टोलका शोभा कुमारी चौधरी र विकास विकको घर बुढिखोलाको कटानले भत्किएको छ । अविरल वर्षाको कारण खोलाको बहाव उछालिएसँगै निरन्तर कटान सुरु भएको हो । अहिले २ घर मात्र विस्थापित भए पनि अझै बढी घरहरू क्षति हुनसक्ने स्थानीयहरू बताउँछन् । तत्कालै दुहबी ४ का वडा अध्यक्ष मुस्तकिम मियाको टिम पुगी स्थलगत निरीक्षण गरिएको छ ।
बाढी प्रभावित घरबार विहीन २ परिवारलाई बिपी स्कुलभित्र आश्रय दिइएको अध्यक्ष मुस्तकिम मियाले बताउनुभयो ।
उता जल तथा मौसम विज्ञान विभागले मङ्गलवार बिहान प्रत्येक नागरिकको मोबाइलमा सूचना प्रवाह गर्दै झापा, मोरङ, सुनसरीका अधिकांश स्थानहरूमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको र थप वर्षा हुने तथा मेची, विरिङ, बक्राहा, लोहन्द्रा, बुढीखोला, सुनसरी खोला लगायत उक्त जिल्लाका तराई र चुरे भई बहने साना नदीहरूमा बाढीको जोखिम; तटीय क्षेत्र एवं डुबान भइरहने होचा भूभागमा रहनु हुनेहरूले भोलिसम्मै उच्च सतर्कता अपनान आग्रह गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्