चितवनमा धूम्रपान र सुर्तीजन्य पदार्थको प्रभाव र नियन्त्रण सम्बन्धी अन्तर्क्रिया

चितवन । चितवनमा धूम्रपान र सुर्तीजन्य पदार्थको प्रभाव र नियन्त्रण सम्बन्धी अन्तर्क्रिया गरिएको छ ।
हेल्थ टुडे र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको समन्वयमा आज भरतपुरमा उक्त अन्तर्क्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एवं कर्मचारी, हेल्थ टुडेका टोलीसहित यहाँका सञ्चारकर्मी बीच यसले स्वास्थ्यमा पारेको असर र न्यूनीकरण बारे छलफल भएको थियो ।
अन्तर्क्रियामा प्रस्तुति दिँदै हेल्थ टुडेका अध्यक्ष एवं वरिष्ठ स्वास्थ्य पत्रकार पदमराज जोशीले पछिल्लो समय युवा जमातले धूम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग बढी गरेको देखिएकोले यसलाई न्यूनीकरण र नियन्त्रण गर्नुपर्ने बताउनुभयो । पछिल्ला दशकहरूमा सर्ने भन्दा बढी नसर्ने रोगको प्रभाव बढी भएको भन्दै यसतर्फ सञ्चार क्षेत्र र अन्य सरोकारवालाहरू सचेतना फैलाउनु पर्ने उहाँले जोड दिनुभयो ।
नेपाल सरकारले लागु गरेका ऐन, कानुन, कार्यविधिहरूको कार्यान्वयन भएका छ कि छैन र यसको प्रभावकारिता कस्तो परेको छ भन्ने विषयमा सञ्चारकर्मीले सञ्चार माध्यममार्फत खबरदारी गर्नुपर्ने उहाँको भनाई थियो ।
स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख रामकुमार केसीले धूम्रपान र सुर्तीजन्य पदार्थको प्रयोगले स्वयं प्रयोगकर्तालाई मात्रै नभई परिवार र समाजलाई समेत प्रत्यक्ष असर पार्ने बताउनुभयो । यसबाट लाग्ने गम्भीर प्रकृतिका रोगबाट बच्न र बचाउन यसको सचेतनाको साथै प्रयोग नै गर्न नहुने उहाँको भनाई थियो ।
कार्यालयले पनि विभिन्न सङ्घसंस्था तथा स्थानीय स्तरसँग समन्वय गरी यसको न्यूनीकरण गर्न सचेतना कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।
सो अवसरमा बोल्दै पत्रकार महासङ्घ, चितवनका उपाध्यक्ष प्रमिता ढकालले अन्य क्षेत्र तथा विषयको बारेमा सञ्चारमाध्यममा बढी समाचार सम्प्रेषण भए पनि यसको नियन्त्रण र न्यूनीकरणमा कमै मात्र समाचारले निरन्तरता पाएको बताउनुभयो ।
उहाँले धूम्रपान र सुर्तीजन्य पदार्थको प्रयोगलाई न्यूनीकरण गर्न सचेतना र कानुनहरूलाई कडा रुपमा लागु गर्नुपर्ने बताउनुभयो धूम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरण गर्न सबै सरोकारवाला निकाय लगायत नागरिकहरूको पनि उत्तिकै भूमिका रहने उहाँले बताउनुभयो । यसका लागि सञ्चारमाध्यमको लागि तालिम, अन्तर्क्रिया तथा फेलोसिपका कार्यक्रम ल्याउनुपर्ने ढकालको भनाई थियो ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले राज्य एक्लैले मात्र यसलाई नियन्त्रण गर्न नसक्ने भन्दै यसको न्यूनीकरण गर्न सेवनकर्ताबाटै सुरु गरिनुपर्ने जोड दिनुभयो ।
मानव स्वास्थ्यसँग सिधा सरोकार यस्ता विषयहरूमा स्वास्थ्य पत्रकार थप जिम्मेवार भएर सही सूचना तथा समाचार सम्प्रेषण गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेपालमा वार्षिक धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट औसत २७हजार १३७ र विश्वमा ८० लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ ।







प्रतिक्रिया राख्नुहोस्