तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर नगर कार्यपालिका निर्वाचनका लागि १६ जनाको उम्मेदवारी

भोजपुर । भोजपुर नगरपालिकाको नगर कार्यपालिका निर्वाचनका लागि सोह्र जनाको उम्मेदवारी परेको छ । दलित तथा अल्पसङ्ख्यक र महिला सदस्यका लागि नेपाली काँग्रेसका ८ जना र नेकपा एमालेका ८ जनाले उम्मेदवारी दिनु भएको छ । 

जेठ १८ गते हुने नगर कार्यपालिका सदस्यका उम्मेदवारलाई निर्वाचन चिन्ह समेत प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ । नगर कार्यपालिकाका लागि दलित तथा अल्पसङ्ख्यकबाट तीन जना र महिला सदस्यका लागि ५ जना छनौट हुने व्यवस्था छ । काँग्रेसलाई रुख र एमालेका उम्मेदवारलाई सूर्य चिन्ह प्रदान गरिएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३, को दफा २६ को उपदफा (६) र (७) बमोजिम उम्मेदवारले निर्वाचन चिन्ह पाउनु भएको हो  । 

दलित तथा अल्पसङ्ख्यकका लागि एमालेबाट अनु भुजेल, छेची शेर्पा र दिपेन दर्नाल उम्मेदवार बन्नु भएको भने काँग्रेसका तर्फबाट टिका कुमारी सार्की मनकुमारी राई र भीम छिरीङ्ग शेर्पा हुनुहुन्छ । यस्तै महिला सदस्यका लागि एमालेबाट जानुका खडका(बस्नेत), रितामाया राई, शारदादेवी थापा, सत्यकला राई र समीक्षा तामाङको उम्मेदवारी  छ भने काँग्रेसबाट चन्द्रा राई, प्रतीक्षा श्रेष्ठ, वन्दना सुन्दास, रोमादेवी मंग्राती (सार्की) र लक्ष्मी तामाङ (श्रेष्ठ) रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button