तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका दश स्थानीय तहको नतिजा सार्वजनिक, बागचौरको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी 

सल्यान । सल्यानको बागचौर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी केन्द्र विजयी भएको भएको छ । मेयरमा नेपाली काँग्रेसका जनक गौतम र  उपमेयरमा नेकपा माओवादी केन्द्रकी सुम्निमा डिसी ओली निर्वाचित भएकी छन् । 

गौतमले ६ हजार २७ मत ल्याएर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृति बहादुर पुनले ५ हजार ५ सय ९४ मत ल्याए । गौतमले पुनलाई  ४३३ मतले पराजित गरेका हुन । 

यस्तै उपमेयरमा माओवादीकी सुम्निमा डिसी ओलीले ६ हजार ६ सय १४ मत ल्याएकी छन् । उनले नेपाली काङ्ग्रेसकी दीपा बस्नेतलाई पराजित गर्दै जित हात परेकी हुन । काङ्ग्रेसकी बस्नेतले ५ हजार २ सय ३४  मत ल्याएकी छन् । 

१२ वडा रहेको बागचौर नगरपालिकामा नेपाली काँग्रेसले ६ वटा वडा, माओवादी केन्द्रले ३, एमालेले २ र एकीकृत समाजवादीले १ वडा जितेका छन् । 

यससँगै सल्यानका दश वटै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । दश पालिकामा नेपाली कांंग्रेसले शारदा र बागचौर नगरपालिका, त्रिवेणी र कुमाख गाउँपालिकामा विजयी हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले बनगाड कुपिण्डे नगरपालिका र दार्मा गाउँपालिकामा जित्दा एमालेले कालीमाटी र छत्रेश्वरी गाउँपालिकामा जित हात पार्न सफल भएको छ । एकीकृत समाजवादी भने कपुरकोट गाउँपालिकामा निर्वाचित भएको छ । 

गत २०७४ को चुनावमा नेपाली काँग्रेसले शारदा नगरपालिका, त्रिवेणी र छत्रेश्वरी गाउँपालिका जितेको थियो भने माओवादीले बागचौर नगरपालिका, दार्मा र कुमाख गाउँपालिका जितेको थियो । यस्तै एमालेले बनगाड कुपिण्डे नगरपालिका, सिद्ध कुमाख, कालीमाटी र कपुरकोट गाउँपालिका जित्न सफल भएको थियो । 

चार स्थानीय तह जितेको एमाले दुई र ३ स्थानीय तह जितेको माओवादी पनि दुई पालिकामा चित्त बुझाउन बाध्य भएको छ । 

बागचौरमा खुम्चियो माओवादी 
माओवादीको आधार इलाकाको रुपमा परिचित बागचौर नगरपालिका यस पटकको निर्वाचनमा भने नेपाली काँग्रेसले भत्काइदिएको छ । 

२०७४ मा मेयर, उपमेयर र ८ वडाध्यक्ष जितेको माओवादी यस पटक भने उपमेयर र ३ वडाध्यक्षमा सीमित बनेको छ । गत निर्वाचनमा २ वटा वडा मात्र जितेको कांग्रेस भने मेयर सहित ६ वटा वडामा जित हात पार्न सफल भएको छ । 

माओवादी भित्रको चरम असन्तुष्टि र अन्तरघातको सिकार बनेको माओवादी नेताहरूकै भनाई रहेको छ । माओवादी भित्रको घमन्ड, आडम्बर तथा पार्टी भित्रको अन्तर्विरोधले गर्दा माओवादीले हार्नु परेको माओवादी एक नेताले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button