खजुरामा चालू आर्थिक वर्षमा २२ हजारले लिए आयुर्वेद सेवा
नेपालगञ्ज । बाँकेको खजुरामा चालू आर्थिक वर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिएका छन् । खजुरा गाउँपालिकाको नागरिक आरोग्य सेवा केन्द्र, आयुर्वेद शाखाले जेठ मसान्तसम्मको ११ महिनाको अवधिमा २२ हजार ३ सय ९४ जनाले आयुर्वेद सेवा लिएको जनाएको छ ।

कार्यालयमै आज आयोजित आयुर्वेद सेवा सम्बन्धि पत्रकारहरूसँग अभिमुखीकरण कार्यक्रममा शाखा प्रमुख किरण खनालले हरेक वर्ष आयुर्वेद सेवा लिनेहरूको संख्या ठूलो आकारमा बढ्दै गएको बताउनुभयो । खनालका अनुसार सेवा केन्द्रले नियमितरुपमा भान्सा सुधार अभिमुखीकरण कार्यक्रम, योग सेवा, पूर्व कर्म सेवा, पञ्च कर्म सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य जाँच, सुत्केरी महिलालाई दुग्धबर्द्धक औषधि (शतावरी चूर्ण) वितरण, विद्यार्थी र शिक्षकलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन हुँदै आएका छन् । खनालले सेवा लिनेहरूमा पुरुष भन्दा महिलाको संख्या बढी रहेको समेत जानकारी दिनुभयो । उहाँले आयुर्वेद उपचार पद्धतिका बारेमा प्रचारप्रसार गर्दै यसप्रति नागरिकको आकर्षण बढाउन सञ्चारकर्मीको अहम् भूमिका हुने बताउनुभयो ।
त्यस अवसरमा सञ्चारकर्मीसहित विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । पत्रकार खगेन्द्र दाहाल, चन्द्र बोहरा लगायतलाई गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले सम्मान गर्नुभएको हो । वडा नम्बर ३ का कार्यबहाक अध्यक्ष देउमाया थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विकले अहिले नसर्ने रोग चुनौतीका रुपमा रहेको बताउँदै जनचेतना बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले पछिल्लो समय बिस्तारै आयुर्वेद उपचार पद्धतितर्फ नागरिकको आकर्षण बढ्न थालेको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेल, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले बोल्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्