रामेछापका ५ पालिकाको मत परिणाम सार्वजनिक

रामेछाप । रामेछापका ५ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम सार्वजनिक भएका पालिकाहरूमा रामेछाप नगरपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्ड गाउँपालिका, सुनापती गाउँपालिका र लिखु तामाकोशी गाउँपालिका रहेका छन् । त्यस बाहेक अन्य ३ वटा पालिकाको भने परिणाम भने आउन बाँकी रहेको र बुधवार राति सम्म सबैको परिणाम आइसक्ने निर्वाचन कार्यालयले बताएको छ ।
५ पालिकामध्ये रामेछाप नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार लबश्री न्यौपानेले ६ हजार ६ सय ३९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी एमालेका रोशन पाख्रिनलाई पराजित गर्नुभयो । पाख्रिनले ५ हजार ९ सय ८६ प्राप्त गर्नु भएको थियो । साथै नगरपालिकाको उपप्रमुखसहित बहुमत वडा नेपाली काँग्रेसले जितेको छ ।
गोकुलगंगा गाउँपालिकाको प्रमुखमा काँग्रेस कै काजीबहादुर खड्काले ६ हजार ९३ मत प्राप्त गरी विजयी बन्नुभयो उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पालिकाका पूर्व अध्यक्ष खड्ग बहादुर सुनुवारले ४ हजार ७ सय १० मत प्राप्त गर्नुभयो । गाउँपालिकाको उपाध्यक्ष सहित बहुमत वडा नेपाली काँग्रेसले नै जितेको छ ।
त्यसैगरि उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार शेरबहादुर सुनुवार विजयी हुनु भएको छ भने उपाध्यक्ष पदमा पनि नेपाली काँग्रेसले जितेको छ ।
त्यसैगरि लिखु तामाकोशी गाउँपालिकाको अध्यक्ष पदमा पनि नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको निर्वाचित अध्यक्ष केशव महतले ५ हजार १ सय १२ मत प्राप्त गरेका छन् । त्यसैगरि उनका निकटतम प्रतिद्वन्द्वी कमल कडरियाले ४ हजार ८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी सुनापती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित ४ वडामा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ । गाउँपालिका बाट अध्यक्ष पदमा निर्वाचित माओवादी केन्द्रका ठुलाकान्छा तामाङ्गले ५ हजार ३ सय ९८ मत प्राप्त गर्नुभएको छ भने, उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका कमान खड्का दीपेन्द्रले ४ हजार ८ सय ५२ मत प्राप्त गर्न सफल भएका छन् ।
त्यस बाहेक परिणाम आउन बाँकी पालिकाहरू मध्ये मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारहरूको अग्रता कायम रहेको छ । त्यसैगरि दोरम्बा सैलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । खाँडादेवी गाउँपालिकामा मतदान स्थगित भएकोले र अन्यमा मत गणनामा ढिलाइ भएकाले बाँकी रहेका ३ वटा पालीकाको परिणाम भने बुधवार राति सम्म आइसक्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्