तपाईँ सुन्दै हुनुहुन्छः

सबै केन्द्रमा पुगे मतदान अधिकृत

रुकुमपूर्व। रुकुमपूर्वको सबै मतदान केन्द्रमा मङ्गलवार मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगेका छन् । टाढाको मतदान केन्द्रमा सोमबार साँझ नै मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगिसकेका थिए । अन्य सबै मतदान केन्द्रमा भने मङ्गलवार मतदान अधिकृत सहायक मतदान अधिकृतसँगै अन्य कर्मचारी पनि निर्वाचनको आवश्यक सामग्रीसहित पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मतदान केन्द्रमा पुगेर पनि उनीहरूले काम सुरु गरिसकेका छन् । सबैले सम्बन्धित मतदान केन्द्रमा सर्वपक्षीय बैठक बस्नेदेखि लिएर मतदान क्षेत्र तोक्ने, मदिरा सेवन तथा बिक्री वितरणमा बन्देज, हातहतियार लिएर मतदान केन्द्रमा जान नपाइने लगाएका सूचना टास गरेको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिनुभयो । भौगोलिक हिसाबले विकट यस जिल्लाको सिस्ने–१, पुथाउत्तरगङ्गाको १, २, ३ लगायतका वडाहरूमा खटिएकाहरू दुई दिन लगाएर पुगेका छन् ।

अब उनीहरूले २८ र २९ गते स्वयंसेवकमार्फत मतदान केन्द्रमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नेछन् । मतदान सकिएपछि पनि सम्बन्धित पालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पु¥याउन टाढाको मतदान केन्द्रबाट साढे एकदेखि दुई दिनसम्म लाग्ने मुख्य निर्वाचन अधिकृत लवटले बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको दिन पानी पर्ने अनुमान गरेकाले पानी प¥यो भने यस जिल्लामा बिजुली र फोनको समस्याले निर्वाचनको काम प्रभावित हुन्छ कि भन्ने डर पनि रहेको उहाँले बताउनुभयो ।

सबै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनको दिन पानी पर्न सक्ने कुरालाई ध्यानमा राखेर आवश्यक तयारी गर्न भनिएको उहाँको भनाइ छ । रुकुमपूर्वकमा ३५ मतदानस्थल र ४९ वटा मतदान केन्द्र रहेका छन् । यस जिल्लामा १६ हजार ८९४ पुरुष र १६ हजार ६२४ महिला गरी ३३ हजार ११८ मतदाता रहेका छन् ।

पुथाउत्तरगङ्गाबाट भरुवा बन्दुकसहित एक पक्राउ

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा एक जना व्यक्ति अवैध भरुवा बन्दुकसहित पक्राउ परेका छन् । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१४ पोबाङबाट एकनाले भरुवा बन्दुकसहित सोही ठाउँकै चन्द्रबहादुर कामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।

कामीलाई १४ नं वडास्थित सिद्धमण्डली मावि राङ्सिको मतदान केन्द्रको २०० मिटर आसपास क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । मङ्गलवार पक्राउ परेको कामीलाई रुकुमकोट ल्याइएको छ । निर्वाचनको मुखैमा मतदान केन्द्र नजिकै भएर अवैध बन्दुकसहित हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button