मिथिला नगरपालिकाका निवर्तमान मेयर हरिनारायण महतोद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

बर्दिबास । धनुषाको मिथिला नगरपालिकाका निवर्तमान मेयर हरिनारायण महतोले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।
नेकपा एमालेबाट मेयर बन्नु भएका महतोले यस पटक पार्टीले टिकट खोसेपछि पुनः मेयर पदमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराउनु भएको छ ।
निवर्तमान मेयर महतोले मेयर पदमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत दिपक धितालले बताउनुभयो ।
पार्टीको नगर कमिटीले एमालेबाट पुनः मेयरका लागि एकल सिफारिस भएर चुनावी प्रचारप्रसारमा जुटिरहेको बेला हरिनारायणको टिकट खोसेर अन्तिम समयमा राजाराम महतोलाई मेयरको टिकट दिएपछि हरिनारायण पक्षका नेता कार्यकर्ता रुष्ट बनेका छन् ।
राजारामले अघिल्लो चुनावमा काँग्रेसबाट बागी बनेर स्वतन्त्रबाट मिथिला नगरपालिकाको मेयर पदमा ३ हजार ५१५ मत ल्याएर पराजित भएका थिए । काँग्रेसबाट बागी उम्मेदवार बनेका महतो मत परिणाममा तेस्रो स्थानमा थिए । मेयरमा एमालेका हरिनारायण महतो ६ हजार ७४० मत प्राप्त गरी विजयी भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार महतोले ५ हजार १७८ मत प्राप्त गरेका थिए ।
तेस्रो स्थानमा रहेका राजाराम महतोलाई केही वर्ष अघिमात्रै बहालवाला मेयर हरिनारायण महतोले नै पहल गरेर एमालेमा भित्र्याएका थिए ।







प्रतिक्रिया राख्नुहोस्