तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो दिन पोखरको मेयरमा ११ जनाको उम्मेदवारी दर्ता

कास्की । पोखरा महानगरपालिकाको मेयरमा आज ११ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । ४ जना पार्टीका तर्फबाट तथा ७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।

स्वतन्त्र उम्मेदवारी दिनेमा लेखक गणेश पौडेल, विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला र किसानसिंह गुरुङ हुनुहुन्छ ।

सञ्जय तिमिल्सिनाले मौलिक जरो किलो पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । सचेत नेपाली पार्टीबाट भोजराज खनालको उम्मेदवारी परेको छ । नेपाली जनता दलका मुक्तिनाथ सुवेदी, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रेमप्रसाद गुरुङले मेयरमा उम्मेदवार दर्ता गर्नुभएको छ ।

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताको तालिका सार्वजनिक गरेको थियो । ठुला राजनीतिक पार्टीले उम्मेदवार तय गर्न ढिला गरिरहेको हुँदा आइतबार स्वतन्त्र र साना पार्टीका तर्फबाट मात्रै उम्मेदवारी परेको छ ।

पोखराको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नील पनेरुका अनुसार उपमेयरमा २ जनाको उम्मेदवारी परेको छ । सचेत नेपाली पार्टीबाट सोनी परियार र मङ्गोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर तामाङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार ५ बजेसम्म मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यहरु गरी ४७ जनाको उम्मेदवारी परेको छ ।

आयोगले मेयर र उपमेयरमा उम्मेदवारी दिन १ हजार ५ सय रुपैयाँ, वडाध्यक्षका लागि १ हजार र सदस्यका लागि ५ सय रुपैयाँ दर्ता शुल्क तोकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button