तपाईँ सुन्दै हुनुहुन्छः

एमाले भोजपुरले टुङ्गो लगायो तीन स्थानीय तहका उम्मेदवार

भोजपुर । एमाले भोजपुरले तीन स्थानीय तहको प्रमुख र दुई स्थानीय तहमा उप प्रमुखमा सर्वसम्मत उम्मेदवार तय गरेको छ ।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकामा सम्बन्धित कमिटीले आज प्रमुखको उम्मेदवार र दुई स्थानीय तहमा उप– प्रमुख सर्वसम्मत छानेको एमाले भोजपुरका उपाध्यक्ष मकर खड्काले जानकारी दिनुभयो ।

एमालेले भोजपुर नगरपालिकाको मेयरमा भरत कुमार तामाङ र उपमेयरमा निर्मला शेर्पालाई अघि बढाएको छ । त्यस्तै टेम्कैमैयुङ गाउँपालिकामा हालका गाउँपालिका अध्यक्ष ध्रुवराज राईलाई पुनः उम्मेदवार बनाउने निर्णय गरिएको छ । टेम्केमैयुङको उपाध्यक्षमा रमा राईलाई उम्मेदवार बनाउन सिफारिस गरिएको छ । रमा हाल जिल्ला समन्वय समिति भोजपुरकी सदस्य हुनुहुन्छ ।

त्यस्तै साल्पासिलिछो गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा दौलत कुलुङ सर्वसम्मत चयन भएको एमाले भोजपुरले जनाएको छ । उपाध्यक्षसहित अन्य पदाधिकारीको भने टुङ्गो लाग्न बाँकी रहेको गाउँ कमिटीले जनाएको छ ।

९ ओटा स्थानीय तह रहेको भोजपुरमा हालसम्म अरू कुनै पनि दलले उम्मेदवारको टुङ्गो लगाएका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button