डडेलधुराको प्रसिद्ध घटाल देवताको जाँत मेला सम्पन्न

डडेलधुरा । डडेलधुराको प्रसिद्ध घटाल देवताको जाँत मेला आज भव्यताका साथ सम्पन्न भएको छ ।
अमरगढी नगरपालिका –३ मा पर्ने सुदूरपश्चिमकै प्रसिद्ध देवता घटालको जाँत दुई वर्षपछि यस वर्ष भव्यताका साथ मनाइएको हो ।
विगत दुई बर्ष कोरोना महामारीका कारण जाँत मेला हुन नसकेको घटाल देवताका मुख्य धामी तिलकसिंह विष्टले बताउनुभयो ।
कोरोना महामारीका कारण दुई वर्षदेखि लाग्न नसकेको जात्रा यस वर्ष भने हर्षोल्लासका साथ मनाइएको छ ।
समाजमा अशान्ति बढेमा वा खडेरी परेमा घटाल बाबाले मनोकामना पूरा गर्ने गरेको जनविश्वास छ ।
गत वर्ष कोरोना महामारीबाट बच्न सबै भक्तजनले घरबाटै घटाल बाबालाई सम्झे भने यस वर्ष परम्परागत अनुसार मनाइएको मन्दिरका धामी विष्टले जानकारी दिनुभयो ।

घटाल देवताको जात्राका दिन सबैका अगाडि धामीले बालुवा र पानी खाई भाग दिने गरेको शक्तिशाली देवताको महिमा अनौठो प्रकारको रहेको बताइन्छ ।
घटाल देवतालाई डोट्याली राजा नागी मल्लकी सातौँ रानीले माइतबाट दाइजो मागेर ल्याएको किंवदन्ती छ । घटाल जात्राका लागि विभिन्न गाउँमा स्थानीयवासीको आ–आफ्नै रीत छ ।
चम्सालका बोहराको कलश, सिंहासन र निशान हुने तथा भगवती मरकट्टे गाउँका महरले डोली बोक्ने, मड्का साउदले छडी बोक्ने र हटिगाउँका दलितले दमाहा बजाउने चलन छ ।







प्रतिक्रिया राख्नुहोस्