कैलालीमा भूमिहीनलाई लालपुर्जा वितरण सुरु
धनगढी । सरकारले कैलालीमा भूमिहीन दलित परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र (लालपुर्जा) वितरण कार्य सुरु गरेको छ ।
नेपालका प्रथम महिला, संविधान सभा सदस्य एवं काँग्रेस केन्द्रीय सदस्य डाक्टर आरजु राणा देउवाले आज धनगढी उपमहानगरपालिका ९ मा एक कार्यक्रमबिच भूमिहीन दलित परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गर्नुभयो ।

काँग्रेस नेतृत्वको सरकारले सबै भूमिहीन परिवारलाई बसोबासका लागि जग्गा उपलब्ध गराउने उल्लेख गर्दै उहाँले पहिलो चरणमा भूमिहीन दलित परिवारलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको बताउनुभयो ।
राष्ट्रिय भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले धनगढी उपमहानगरपालिका ९ का १९ भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकामा मेयर एवं काँग्रेस केन्द्रीय सदस्य नृपबहादुर वड, काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट लगायतको सहभागिता थियो ।
वर्षौँपछि लालपुर्जा पाउँदा भूमिहीन दलित परिवार खुसी देखिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्