तपाईँ सुन्दै हुनुहुन्छः

रानी महलमा हुने राष्ट्रिय महिला बिच भलिबलको तयारी पुरा

पाल्पा । पाल्पाको रानी महलमा हुने राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

मङ्गलवार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा आयोजक सञ्जय स्मृति प्रतिष्ठानले तयारी पूरा भएको जनाएको हो । प्रतियोगिता यही चैत २४ गतेदेखि २६ गतेसम्म ऐतिहासिक पाल्पा रानी महलको किनारमा हुन लागेको छ ।

प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय टोली एपिएफ र पुलिसको सहभागिता रहने जानकारी दिनुभयो ।

नेपाल भलिबल सङ्घको सहकार्यमा हुने प्रतियोगिता विजेताले रु एक लाख तथा दोस्रो हुनेले रु ५० हजार नगद पुरस्कारसहित सम्मान पत्र प्राप्त गर्ने छन् । करिब ३० लाख बजेट अनुमान गरिएको प्रतियोगितामा सहभागी हुने खेलाडीको यातायात, बसोबास, जर्सी र अन्य खेल सामग्रीको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीताका सद्भावना दूत नायक धीरेन शाक्यले खेलकुद, कला, सङ्गीतका साथै सामाजिक कार्यमा सक्रिय तानसेन निवासी सञ्जय मास्केको विसं २०५५ मा सडक दुर्घटनामा निधन भएको र उहाँको स्मृतिमा कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।

पाल्पाली सङ्गम काठमाडौँका अध्यक्ष पदम न्यौपाने, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन लगायतले खेलकुदको माध्यमबाट पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्न उक्त प्रतियोगिता महत्त्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button