धार्मिक तथा पर्यटकीय स्थल गण्डकी विकासको आधार हुन् : मुख्यमन्त्री पोखरेल

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशका धार्मिक तथा पर्यटकीय स्थल विकासको आधार रहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको कैलाश सन्न्यास आश्रमको अधिवेशन आज उद्घाटन गर्दै उहाँले यहाँको धार्मिक क्षेत्रलाई जोडेर पर्यटकीय स्थल बनाउन सकिने बताउनुभयो ।
प्रदेशको उत्तरमा मुक्तिनाथदेखि दक्षिणमा गजेन्द्र मोक्षधाम र यसबीचमा रहेका कैलाश सन्न्यास आश्रम, देवघाट, दाउन्नेदेवी, मौलाकालिका मन्दिर, मनकामना, गलेश्वर आश्रमलगायत हरेक धार्मिक तथा पर्यटकीय स्थल गण्डकी प्रदेशको सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले कैलाश सन्न्यास आश्रमको स्तरोन्नतिका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारसमेतले काम गरिरहेको सन्दर्भमा अब बजेट बनाउँदा प्रदेशबाट रकम विनियोजन गर्ने आश्वासन दिनुभयो । सो आश्रममा १५औँ शताब्दीको पुरातात्त्विक वस्तु भेटिएकाले त्यसको संरक्षण गर्दै यस क्षेत्रको प्रचारप्रसार गर्नुपर्नेमा उहाँको जोड थियो ।
संविधानसभा सदस्य कृष्ण पौडेलले ऐतिहासिक महत्त्व बोकेको यस धार्मिक स्थलको अक्षयकोषका लागि रु ५० हजार सहयोग गर्ने घोषणा गर्नुभयो । कैलाश सन्न्यास आश्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज घिमिरेले विसं २०७२ देखि पुरातत्त्व विभागबाट अनुगमन तथा उत्खनन गरी २०६७ मा शिखरशैलीको कलात्मक शिव मन्दिर निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको जानकारी दिनुभयो । उहाँले हाल मन्दिरको निर्माण ७५ प्रतिशत सम्पन्न भएको बताउनुभयो ।
आश्रमको प्रगति प्रतिवेदन, गुरुयोजना प्रस्तुत गर्दै कैलाश सन्न्यास आश्रम मन्दिर व्यवस्थापन समितिका सचिव नेत्र रिजालले पाँच विघाह क्षेत्रफलको गुरुयोजना बनाउने, स्नानघाट, किरियापुत्री भवन, अतिथि गृह, मन्दिर रङ रोगनलगायतका काम गर्नुपर्ने बताउनुभयो । उहाँले आश्रमभित्र ३५ फुट अग्लो शिव भगवानको मूर्ति बनाउन आवश्यक रहेको बताउनुभयो ।
सेनकालीन इतिहाससँग जोडिएको गैँडाकोटस्थित आश्रमको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन का लागि पुरातत्त्व विभागले जीर्ण अवस्थामा रहेको मन्दिर परिसरमा उत्खनन गरेको छ । पन्ध्रौँ शताब्दीको अन्त्य तथा १६औँ शताब्दीको सुरुतिर पाल्पाका राजा मणिमुकुन्द सेनले यहाँ मन्दिर निर्माण गरी यसै क्षेत्रमा आई बसेको गरेको किंवदन्ती रहिआएको छ ।
मुकुन्दपुर डाँडामा दरबार निर्माण गरी सुरक्षाका लागि गैँडाकोटदेखि माथि डाँडामा सैनिक टुकुडी र मौलाकालिका देवीको स्थापना र शिख्रौलीमा शिव मन्दिर स्थापना गरेको भन्ने किंवदन्ती पाइन्छ ।
यहाँ विशाल ढुङ्गाबाट बनेको शिवलिङ्ग, ढुङ्गा छेडेर राखिएका फलामका छड, देवीदेवताको मूर्ति र विभिन्न आकार प्रकारमा कुँदिएका कलात्मक ढुङ्गा रहेका छन् । ढुङ्गा शङ्ख, चक्र, विभिन्न देवीदेवताको आकार प्रकारमा कुँदिएका छन् । पुरातत्त्व विभागका अनुसार यहाँ भेटिएका कलात्मक ढुङ्गा सेनकालीन हुन् । विभागले यहाँ एक हजार ५१८ वटा ढुङ्गा उत्खनन गरेको थियो । टुटुफुटेका पुराना ढुङ्गा हेरी नयाँ ढुङ्गा निर्माण कार्य जारी रहेको छ । रासस







प्रतिक्रिया राख्नुहोस्