तपाईँ सुन्दै हुनुहुन्छः

महिलामाथि एसिड प्रहार गर्ने दुई जना पक्राउ

बारा । महिलामाथि एसिड प्रहार गर्ने दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका १३ श्रीपुर बस्ने अन्दाजी बर्ष ३२ को  रामबाबु साह र सोही ठाउँ बस्ने  बर्ष ५० को हवारी साह रहेका छन् । 

दुवै जनालाई प्रहरीले वीरगंजबाट नियन्त्रणमा लिएको हो । 

गए राति ८ः०० बजेको समयमा वीरगन्ज महानगरपालिका वडा नं. १३ श्रीपुर टोल बस्ने उमेश साहको श्रीमती बर्ष २८ की सिता पटेललाई उनीहरूले एसिड प्रहार गरेका थिए । 

पक्राउ परेका रामबाबु पीडित महिलाका जेठाजु हुन् भने हवारी ससुरा हुन् । माइतीघर बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नं.२३ कोरिया टोल आउने क्रममा मोटरसाइकलमा आएका दुई जनाले एसिड प्रहार गरेको पीडित महिलाले बताएको बारा प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

एसिड प्रहारबाट घाइते भएकी सिता पटेलको प्रादेशिक अस्पताल कलैयामा  उपचार सम्भव नभएपछि थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

घरायसी विवादका कारण महिलामाथि एसिड भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको बारा प्रहरी प्रवक्ता थापाले बताउनुभयो । 

पीडित महिला अहिले उपचारकै क्रममा रहेका कारण थप सोधपुछ गर्न नसकिएका कारण अनुसन्धान अघि बढ्न नसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button