चुनावी प्रचारमा लाग्न नेता कार्यकर्तालाई गृहमन्त्रीको निर्देशन
रुपन्देही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले तोकिएकै मितिमा चुनाव हुने बताउँदै प्रचारमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन गर्नुभएको छ ।

शनिबार गृह जिल्ला रुपन्देहीको बुटवल तामनगर–फर्साटिक सडकमा निर्मित दानव नदी पुलको उद्घाटनमा उहाँले तोकिएकै मिति वैशाख ३० मा चुनाव हुने बताउँदै चुनावको प्रचारमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले अमेरिकी सहयोग परियोजना एमसिसी नेपालको हितमा भएको उल्लेख गर्दै त्यसको पनि प्रचार गर्न आग्रह गर्नुभयो । एमसिसी नेपालको विद्युत् विकासमा कोशेढुंगा साबित हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले कोरोना महामारीका बिच पनि सरकारले विकासका काम नरोकेको बताउँदै समग्र लुम्बिनी प्रदेशको विकासको नेतृत्व लिन गृहमन्त्री खाँणलाई आग्रह गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले समग्र जिल्लाको विकासको लागि सबै राजनीतिक दल मिलेर काम गर्नुपर्ने भनाई राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्