लुम्बिनीका ६ जिल्लामा दुवै दिन होली उत्सव

रुपन्देही । लुम्बिनी प्रदेशमा रहेका तराईका जिल्लामा दुई दिन नै होली उत्सव मनाउन थालिएको छ । हिजो पहाडी क्षेत्रमा मनाइने होली र आज तराईका क्षेत्रमा मनाइने होली यहाँका ६ जिल्लामा दुवै दिन मनाउने प्रचलन सुरु भएको छ ।
मिश्रित बसाई भएकाले दुवै दिन धूमधामकासाथ होली पर्व मनाइँदै छ । पहाडी क्षेत्र नजिक पर्ने तराईका जिल्लामा भने दुवै दिन होली मनाउने गरिन्छ । रुपन्देही, कपिलवस्तु, नवलपरासी, बाँके, बर्दिया, दाङमा होली दुई दिन नै मनाउने प्रचलन बसिसकेको छ ।
फागु पूर्णिमाको पहिलो दिन पहाडबाट तराईमा बसाई सरेकाहरूले प्राथमिकताका साथ मनाउने गर्दछन् भने दोस्रो दिन तराईमै बसोबास गर्नेहरूले मनाउँछन् । तर यी क्षेत्रहरूमा धेरैजसो दुवै क्षेत्रका नागरिकहरूको मिश्रित बसाई भएकाले दुई दिन नै मनाउन थालिएको संस्कृतविद् राजेन्द्रकुमार आचार्य बताउनुहुन्छ । बिहानैदेखि आपसमा रङ र अबिर दलेर खुशीयाली साटासाट गर्ने क्रम सुरु भएको छ ।
वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो पर्वमा एक आपसमा रङ र अबिर लगाउने चलन छ । होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ । होली मनाइने तराईका जिल्लामा आज सार्वजनिक बिदा छ । लुम्बिनी ६ पहाडी जिल्लामा भने हिजो नै होली मनाइएको थियो । पहाडी क्षेत्रमा हिजो सरकारी बिदा थियो भने तराईमा आज सरकारी बिदा दिइएको छ । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा तराईमा ६ जिल्ला रहेका छन् ।
रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङ्गमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ ।
फागु पूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ्ग र रङ्गिन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ । यस पर्वका लागि बजारमा फलफूल, मासु, रङ र अबिरको बिक्री बढेको पाइएको छ ।
एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ ।
होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । केही मुस्लिम समुदायका युवाले होली मनाउने समूहसँग मिलेर पर्व मनाउने गरेको युवा नेता आलम बताउनुहुन्छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने संस्कृतविद् आचार्यको भनाइ छ ।
कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा (होली) ले तराई र पहाडी क्षेत्रको भावना जोडेको विश्वास गरिन्छ छ । रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङ्गमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ ।








प्रतिक्रिया राख्नुहोस्