बृहत् धौलिगाड खानेपानी आयोजना निर्माण हुने पक्का, खानेपानी मन्त्रीले शिलान्यास गर्नुहुने

जुम्ला । कर्णाली प्रदेशको सबैभन्दा ठुलो धौलिगाड खानेपानी आयोजना निर्माण हुने पक्का भएको छ । विगत डेढ दशकदेखि अलपत्र अवस्थामा रहेको उक्त आयोजना बल्ल निर्माण प्रक्रिया अघि बढ्ने पक्का भएको हो ।
केही महिना अघि आयोजना निर्माणको बजेट सुनिश्चितता भएपनि कहिलेबाट निर्माण हुने पक्का थिएन । आगामी चैत ५ गते सङ्घीय खानेपानी मन्त्री उमाकान्त चौधरीले बृहत् धौलिगाड खानेपानी आयोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको धौलिगाड खानेपानी आयोजन प्रमुख महेश न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार कर्णाली प्रदेशको ठुलो र नेपालको हिमाली भेगमा रहेको सबैभन्दा लामो प्रसारण तथा वितरण क्षेत्र रहेको उक्त खानेपानी आयोजना निर्माणको शिलान्यासका लागि चैत ५ गते खानेपानी चौधरीसहित खानेपानी मन्त्रालयका सचिव र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक चैत ५ गते जुम्ला आउनुहुने भएको छ ।
१ अर्ब २६ करोड लागतमा उक्त आयोजना निर्माण हुने भएको छ । चन्दननाथ नगरपालिका सहित गुठिचौर र तातोपानी गाउँपालिकाका ४४ हजार १ सय ६३ घरधुरी धौलिगाड खानेपानी आयोजनाबाट लाभान्वित हुने भएका छन् ।
आयोजना सञ्चालन सँगै तीन स्थानीय तहका नागरिकले भोगिरहेको खानेपानी समस्या पनि हट्ने अपेक्षा गरिएको छ । लामो सङ्घर्ष र प्रयासपछि आयोजना निर्माण हुने प्रक्रिया गएकोमा जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले खुसी व्यक्त गर्नुभयो । उपप्रमुख बुढा आयोजना शिलान्यास प्रक्रिया सम्म ल्याउनका लागि पहलकर्ता समेत हुन् ।
चैत ५ गते बिहान साढे १० बजे आयोजनाको कार्यालय परिसरमा भूमि पूजा गर्ने र त्यस पश्चात् टुँडिखेल मैदानमा शिलान्यास तथा सम्बोधन कार्यक्रम रहेको धौलिगाड खानेपानी आयोजना प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्