तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन 

लहान । सिरहाको धनगढीमाई नगरपालिकामा प्रमुख प्रशासकीय भवनको उद्घाटन गरिएको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख हरिनारायण चौधरीद्वारा सुविधा सम्पन्न  पाँच तल्ले उक्त भवनको विधिपूर्वक उद्घाटन गरिएको हो । 

पालिकाको आफ्नो भवन नहुँदा वडा कार्यालयको फरक/फरक तीन ठाउँबाट सेवा दिँदै आइरहेको थियो । उक्त समस्यालाई पूर्ण रुपमा समाधान गर्न नगरपालिकाले प्रविधियुक्त स्मार्ट खाले आफ्नै प्रमुख प्रशासकीय भवनको निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेले बताउनुभयो । 

आर्थिक बर्ष ०७५/०७६ मा सुरु गरिएको भवनको निर्माण कार्य निर्धारित समय अवधि (३ बर्ष) भित्रै सम्पन्न गरिएको छ । करिब १४ करोडको कुल लागतमा सङ्घीय सरकारको विशेष अनुदान र नगरपालिकाको आफ्नै लगानीमा  भवन निर्माण भएको इन्जिनियर शम्भु यादवले बताउनुभयो  । 

भवनका लागि स्थानीय समाजसेवी पुनम कुमारी महतो र कपिलदेव महतोले करोडौँ मूल्य बराबरको १३ कट्ठा क्षेत्रफलको जग्गा निःशुल्क दान गर्नुभएको थियो । एकीकृत रुपमा एकै ठाउँबाट सेवा सञ्चालन भएपछि सेवाग्राहीहरू खुशी भएको स्थानीय सुजित चौधरीले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button