तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ बुटवल सडक विस्तारको काम सुस्त

नवलपुर। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुटवल सडक खण्ड विस्तारको कामले अझै गति लिन सकेको छैन । सो सडक खण्ड विस्तारको अधिकांश काम यतिखेर सकिसक्नुपर्ने अवस्था थियो ।

नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर रमेश दिष्टीका अनुसार आयोजनाको लक्ष्यअनुसार सडक विस्तारको काम ९० प्रतिशत सम्पन्न गर्नुपर्दथ्यो । तर, सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले जम्मा १२.४४ प्रतिशत मात्र काम सकेको उहाँले जानकारी दिनुभयो । ठेकेदार कम्पनीले निर्माण आरम्भमा ढिलाइ, रुख कटान गर्नुपर्ने सङ्ख्या बढ्नु र कटान आदेश ढिलो गरी प्राप्त हुनु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, विद्युत् लाइन सार्न समस्या हुनुलगायतका समस्याले विस्तारमा ढिलाइ भएको जनाइएको छ ।

त्यसैगरी खानेपानी लाइन स्थानान्तरण गर्न समस्या, बर्सातको पानी निकासको समस्या, काठदाउरा हस्तान्तरणमा समस्या रहेको उहाँको भनाइ छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सडक विस्तारको काम छिटो सक्न मजदुरको सङ्ख्या बढाएर काम गर्न निर्देशन दिएको बताउनुभयो ।

उहाँले सबै ठाउँमा एकैपटक काम गर्नभन्दा सानो सानो क्षेत्रमा काम सक्दै अगाडि बढ्न निर्देशन दिएको बताउनुभयो । सो सडक खण्ड विस्तारको काममा अहिले दैनिक झण्डै ७०० को हाराहारीमा मजदुर खटिएका इन्जिनियर दिष्टीले जानकारी दिनुभयो । सो खण्डमा पर्ने सात साना पक्की पुल (माइनर ब्रीज) सञ्चालनको अन्तिम तयारीमा रहेको उल्लेख गर्दै उहाँले पुल सञ्चालनमा आएसँगै यात्रामा केही सहज हुने बताउनुभयो । सडक खण्डको सात वटा पुल निर्माण सकेर अहिले माटो भर्ने काम चलिरहेको छ ।

“आउने बर्खामा डाइभर्सनका कारण यात्रुले दुःख नपाउन् भन्नका लागि हामीले कामलाई प्रभावकारीरुपमा अगाडि बढाउन भनेका छौँ” उहाँले भन्नुभयो, “गैँडाकोटको थुम्सी जङ्गल क्षेत्रमा निर्माणाधीन सबै पुल आउने बर्खाअघि नै सम्पन्न हुन्छन् ।” सडकको पूर्वी खण्डअन्तर्गत २२ माइनर ब्रीज (साना पुल) निर्माण हुने र अहिले १५ पुल निर्माणाधीन अवस्थामा रहेका उहाँले जानकारी दिनुभयो । “पूर्वी खण्डमा निर्माण हुने १२ मेजर ब्रीज (ठुला पुल) मध्ये छ निर्माणको क्रममा छन्”, उहाँले भन्नुभयो, “यहाँ २१५ वटा कल्भर्ट निर्माण हुनेछन् भने अहिले ११५ निर्माणाधीन अवस्थामा छन् ।”

पछिल्लो समय सडक विस्तारको कामले केही गति लिएको उहाँले दाबी समेत गर्नुभयो । प्रमुख दिष्टीका अनुसार मध्यबिन्दुको चोरमारा र अरुणखोला जङ्गल क्षेत्रमा सडक विस्तार हुने क्षेत्रमा माटो भर्ने र पुल निर्माणको काम सुरु भएको छ । दाउन्ने पहाडको माटो कटान गर्ने काम पनि सञ्चालन भइरहेको छ । सडक विस्तारका लागि मजदुरसँगै २१३ औजार उपकरण प्रयोग गरेर काम भइरहेको आयोजनाले जनाएको छ ।

करिब एक घण्टामा पार गरिने नारायणगढ बुटवल सडकको पूर्वी खण्ड विस्तारको काम ढिला हुँदा पार गर्न तीन घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । निर्माणाधीन सडकमा उड्ने धुलोका कारण स्थानीय तथा यात्रुले निकै सास्ती खेप्नुपरेको छ । करिब ६५ किलोमिटर पूर्वी खण्डमध्ये १७.६ किलोमिटर छ लेन, ४२.७ किलोमिटर चार लेन, ४.१ किलोमिटर तीन लेन (दाउन्ने खण्ड)मा विस्तार हुनेछ ।

सडक विस्तार आयोजनाको म्याद आगामी साउन २२ मा सकिँदै छ । सम्झौता मितिबाट ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी सरकारले विसं २०७५ माघ २४ मा सडक विस्तारका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा विस्तार हुन लागेको सो सडकको पूर्वी खण्ड रु नौ अर्ब १३ करोडमा ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button