‘बिजुली माया वन’बाट जङ्गम र युवा सङ्गीत पुरस्कारबाट परियार सम्मानित
मकवानपुर । वरिष्ठ सङ्गीतकार तथा प्राध्यापक दीपक जङ्गम र लोकप्रिय गायक शिव परियार शनिबार हेटौँडामा सम्मानित हुनुभएको छ । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले ‘बिजुली माया वन’बाट जङ्गम र युवा सङ्गीत पुरस्कारबाट परियारलाई सम्मानित गरेको हो ।
प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको एक लाख राशिको बिजुली माया वन: राष्ट्रिय सङ्गीत पुरस्कारबाट वरिष्ठ सङ्गीतकार तथा प्राध्यापक जङ्गमलाई र पच्चिस हजार राशिको युवा सङ्गीत पुरस्कार–२०७८ बाट लोकप्रिय गायक परियारलाई पुरस्कृत गरेको हो । भीम विरागको १० औँ स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानले हेटौँडामा शनिबार एक साङ्गीतिक समारोहका बिच उक्त पुरस्कार प्रदान गरेको हो ।

व्यवसायी/समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा बिजुलीमाया वन: श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार स्थापना गर्नुभएको हो । २०६४ सालदेखि प्रतिष्ठानको व्यवस्थापनमा हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिँदै आएको छ भने भीम विराग युवा सङ्गीत पुरस्कार–२०७८ शिक्षाप्रेमी निरा गोर्खालीले सौजन्य गर्नुभएको हो । पुरस्कार प्रदान पश्चात् जङ्गम र परियारले आफ्नो साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एल बि क्षेत्रीको प्रमुख आतिथ्यतामा वरिष्ठ सङ्गीतकार जङ्गमलाई एक लाख नगद सहित दोसल्लाले पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विभिन्न कला, साहित्य, सङ्गीत क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्