तपाईँ सुन्दै हुनुहुन्छः

१५ करोडको आयोजना : तीन वर्षमा ३ करोड खर्च

पर्वत । पर्वतको एक गाउँमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजनाको कामले गति लिन सकेको छैन । जिल्लाको फलेवास नगरपालिका– ३ शंकरपोखरीमा ‘एक घर एक धारा’ पु¥याउने लक्ष्य सहित २०७४ फागुन महिनाबाट सुरु भएको लमाएखोला बृहत् लिफ्ट खानेपानी आयोजनाले लक्ष्य अनुसार काम गर्न नसकेको हो । उक्त आयोजनाको कुल लागत १५ करोड रुपैयाँ भएपनि उपभोक्ता समितिले तीन वर्षको अवधिमा जम्मा ३ करोडको मात्रै काम गरेको छ ।

यो आयोजनाले एक हजार ५० घरमा खानेपानीको धारा पु¥याउने लक्ष्य राखेको छ । उपभोक्ता समितिका अध्यक्ष शिव तिवारीका अनुसार गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय मार्फत आयोजनाको काम अगाडी बढेको हो । मन्त्रालयले आवश्यक बजेटको सुनिश्चितता नगरिदिँदा र पटक पटक डिजाइन परिवर्तन गरिदिँदा कामले गति लिन नसकेको तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ काम अनुसार मन्त्रालयले खुरुखुरु भुक्तानी दिए समस्या हुने थिएन ।’ मन्त्रालयमा सचिव र इन्जिनियर फेरिएपिच्छे आयोजनाको स्टिमेट फेरिदिने समस्या रहेको उहाँले सुनाउनुभयो । उपभोक्ता समितिका अनुसार लमाएखोलाबाट लिमीकोटसम्म १५ सय मिटर माथिसम्म पानी तानेर गाउँमा वितरण हुनेछ । लिमीकोटमा २ लाख लिटरको मुख्य रिजर्भवेयर ट्याङकी, भूमेकोटमा १ लाख लिटर, थुमगाउँमा ६० हजार लिटर, भिर बारीमा ६० हजार लिटरको ट्याङकीनिर्माण भैसकेको छ ।

जिल्लाको सबैभन्दा ठुलो लिफ्ट खानेपानी आयोजनाको रुपमा रहेको यो आयोजनाको काम दुई वर्षमै सक्ने योजना अनुरुपा तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिलान्यास गर्नुभएको थियो । तीन वर्ष सम्म पनि आयोजनाको काम नसकिएपछि बुधवार अनुगमनमा आएका गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामकुमार श्रेष्ठले आयोजनाको काममा बजेट अभाव नहुने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले उपभोक्ता समिति र ठेकेदार कम्पनीले कुनै वाहना नगरी काम सक्न निर्देशन दिनुभयो ।

आयोजनाको काममा कुनै बाधा भएमा मन्त्रालय समाधान गर्न तयार रहेको श्रेष्ठले बताएपछि उपभोक्ता समिति यही चैत्र सम्ममा आयोजनाको काम सक्न तयार भएको छ । सिनियर डिभिजनल इन्जिनियर प्रेम डोटेलले उपभोक्ता समिति र ठेकेदार कम्पनीले जति सक्दो धेरै काम गरे बजेटको निकासामा मन्त्रालयले कुनै बाधा नपु¥याउने गरी निर्देशन दिइएको जानकारी दिनुभयो । डोटेलले स्थानीय तहको चुनाव अगाडी नै प्रदेश भरिका रुग्ण र अलपत्र परेका आयोजनाको काम सक्न ताकेता गरिरहेको पनि जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button