तपाईँ सुन्दै हुनुहुन्छः

होली पर्वको पूर्व सन्ध्यामा वीरगन्जमा वर्ड फ्लु संक्रमण

बीरगंज । होली पर्वको पूर्व सन्ध्यामा वीरगन्ज स्थित एक कुखुरा फर्ममा वर्ड फ्लु संक्रमण देखिएको छ ।

वीरगन्ज महानगरपालिका १५ भेडियाहीस्थित सागर अन्सारीले सञ्चालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरूमा वर्ड फ्लु देखिएको हो । वर्ड फ्लु सङ्क्रमणबाट अन्सारीको कुखुरा फर्ममा रहेका १ हजार ९ सय वटा ब्रोइलर कुखुरा मरेका छन् ।

फर्ममा रहेका कुखुराहरू वर्ड फ्लु सङ्क्रमणले मरेको प्रमाणित भएपछि बाँकी रहेका जिउँदो कुखुरा र पक्षीजन्य वस्तुहरू प्रहरीको रोहबरमा आज नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एव‌म् प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

जिल्ला पशु क्वारेनटाइन कार्यालय पर्साबाट डाक्टर हरेराम यादवको नेतृत्वमा खटिएको पशु प्राविधिकहरूको टोलीले उक्त फर्ममा रहेका जिउँदो ३० वटा कुखुरा, अण्डा २ हजार पिस, दाना ३ सय केजी, अण्डाको खाली क्रेट ३ हजार थान र सङ्क्रमणले मरेका १ हजार ९ सय वटा कुखुरा खाल्डोमा पुरेर नष्ट गरेको खनालले बताउनुभयो ।

वर्ड फ्लु संक्रमण भेटिएको उक्त कुखुरा फर्मलाई सिल पनि गरिएको जिल्ला पशु क्वारेनटाइन कार्यालय पर्साका प्रमुख डाक्टर हरेराम यादवले जानकारी दिनुभयो ।

भेडियाहीको कुखुरा फर्मका कुखुराहरूमा वर्ड फ्लु संक्रमण भेटिएपछि वीरगन्ज र यस आसपासका अन्य कुखुरा फर्महरूमा पुगेर अनुगमन र परिक्षण गर्ने तयारी भइरहेको यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button