जाजरकोटमा काँग्रेसको अगुवा कार्यकर्तालाई प्रशिक्षण

जाजरकोट । नेपाली काँग्रेस जाजरकोटले जिल्लाका सात वटै स्थानीय तहमा अगुवा कार्यकर्ता प्रशिक्षण अभियान सञ्चालन गरेको छ ।
आसन्न स्थानीय तहको चुनावलाई लक्षित गरी काँग्रेस जाजरकोटले जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा रहेका आफ्ना अगुवा कार्यकर्तालाई प्रशिक्षण थालेको हो ।
“गत फागुन २१ गते शिवालयदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम २८ फागुनमा कुशे गाउँपालिकामा पुगेर समापन हुने सभापति बेदराज सिंहले बताउनुभएको छ । प्रशिक्षणबाट कार्यकर्ता उत्साहित भएका छन्”, सिंहले भन्नुभयो ।

केही समय पहिले बसेको पार्टीको जिल्ला कार्य समितिको बैठकले अगुवा कार्यकर्तालाई प्रशिक्षण प्रदान गर्न उपसभापतिको खडक बिसीको संयोजकत्वमा ६ सदस्यीय एक प्रशिक्षण समिति गठन गरेको थियो । सोही समितिको सहजिकरणमा स्थानीय पालिकाको आयोजनामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ ।
पार्टीबाट उम्मेदवार रहेका सबैलाई विजयी गराउनका लागि कार्यकर्ता जागरूक बनाउन प्रशिक्षणको आयोजना गरिएको हो सभापति सिंहले बताउनुभयो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा जिल्लाका सबै पालिका र वडामा काँग्रेसका उम्मेदवार जिताएर जाजरकोट काँग्रेसमय बनाउने हाम्रो अठोट र सङ्कल्प रहेको छ, उहाँको भनाइ छ ।

अगुवा कार्यकर्ताहरूलाई नेपालको निर्वाचन इतिहास र तहगत संरचनामा निर्वाचन तथा समसामयिक राजनीतिमा विषयमा उपसभापति खडक बिसी, चुनावी रणनीति विषयमा सहसचिव छवि पन्त, नेपाली काँग्रेसको विधान सम्बन्धमा सदस्य जनक केसी, नेपाली काँग्रेसको इतिहास र आर्दशहरु विषयमा सहसचिव खडक बिसी, असल नेतृत्वका गुणहरू विषयमा सदस्य रिता पुन र द्धन्द, शान्ति र विकास विषयमा महासमिति सदस्य मैना कार्कीले प्रशिक्षण प्रदान गरिरहेको पार्टी प्रवक्ता छवि पन्तले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्