मन्त्री बडू र अस्ट्रेलियन राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मङ्गलवार भएको भेटमा मन्त्री बडू र राजदूत भोल्कबीच नेपाल र अस्ट्रेलियाको दुई पक्षीय मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउने लगायत विविध समसामयिक विषयमा छलफल भयो ।
त्यस अवसरमा मन्त्री बडूले नेपालको विकासका लागि अस्ट्रेलियाले विविध क्षेत्रमा गरिरहेको सहयोग र कोभिड–१९ महामारी नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद दिनुभयो ।
उहाँले न्यायमा नागरिकको सहज पहुँच, नेतृत्व विकास, स्वच्छ ऊर्जा, सङ्घीयताको सुदृढीकरण र विकासका विविध सवालमा अस्ट्रेलियाले हासिल गरेको अनुभव नेपालका लागि समेत उपयोगी हुने बताउनुभयो ।
कानून मन्त्री बडूले नेपाल र अस्ट्रेलियाबीच सरकार र सरकारबीच मात्र नभई सामाजिक रुपमा समेत बलियो सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै नेपाली विद्यार्थीहरूको प्रमुख गन्तव्यका रुपमा रहेको अस्ट्रेलियामा पठनपाठन सहज हुने व्यवस्थाका लागि राजदूत भोल्कको ध्यानाकर्षण गराउनुभयो ।
जवाफमा नेपालका लागि अस्ट्रेलियन राजदूत भोल्कले नेपाल पुरानो मित्र राष्ट्र भएकाले विगतदेखि नै स्वास्थ्य, शिक्षा, ऊर्जा, जलस्रोत, सामुदायिक वन र विकास पूर्वाधारदेखि समुदायस्तरमा महिलाहरूको नेतृत्व विकास, महिला हिंसा अन्त्यलगायत विभिन्न कार्यक्रम गरिरहेको र आगामी दिनमा सहयोगको क्षेत्र बढाएर सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
राजदूत भोल्कले न्याय क्षेत्रका साझा मुद्दा पहिचान गरी आपसी सहयोग अभिवृद्धि गर्न र अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई अध्ययनका लागि थप सहज वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भेटमा परराष्ट्र मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्