स्वास्थ्य निर्देशनालयका प्रतिनिधिद्वारा ख्वप अस्पताल अनुगमन

भक्तपुर । प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाको नेतृत्वमा आएको अनुगमन टोलीले आज भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्थलगत अनुगमन गरेको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख एवम् ख्वप अस्पताल सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले अनुगमन टोलीलाई ख्वप अस्पतालमा स्वागत गर्नुभई अस्पतालबाट प्रवाहित सेवा तथा सुविधा र अस्पतालको अवस्थाबारे विस्तृतमा अवगत गराउनुभयो ।
नगर प्रमुख प्रजापतिले जनताको माग र आवश्यकताअनुसार नगरपालिकाले सुविधासम्पन्न ख्वप अस्पताल सञ्चालनमा ल्याएको बताउँदै ख्वप अस्पताललाई स्तरोन्नति गर्दै १०० शय्या क्षमताको अस्पताल सञ्चालनको लागि आवश्यक सहयोगको लागि अनुरोध गर्नुभयो ।
अस्पतालका बिरामीहरूलाई २४ सै घण्टा इमर्जेन्सी सेवा, ल्याब, एक्स–रे र फार्मेसी सेवा, स्त्री रोग, जनरल सर्जरी, बाल रोग, हाडजोर्नी लगायतका सेवाहरू सञ्चालनमा रहेको जानकारी गराउनुभयो ।
अनुगमनका क्रममा प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. झाले ख्वप अस्पतालको भौतिक पूर्वाधार नेपाल सरकारले तोकेको मापदण्डअनुरूप नै भइरहेको पाइएको बताउनुभयो ।
उहाँले ख्वप अस्पतालको भौतिक संरचना अपाङ्गमैत्री हुनुपर्ने र जनतालाई सहज रुपमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
टोलीले निर्माणाधीन ख्वप अस्पताल, ब्रम्हायणीस्थित ख्वप अस्पताल कोभिड युनिट, छाती पुनः स्थापना केन्द्रको समेत स्थलगत निरीक्षण गरेको थियो ।
अनुगमन टोलीमा प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ नर्सिङ प्रशासक सावित्रीकुमारी पौडेल, भक्तपुर अस्पतालका नर्सिङ अधिकृत रोशनी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका रेडियोलोजिष्ट डा. रुपेन्द्र खड्की, ल्याब टेक्निसियन इन्चार्ज सुशील आचार्यको सहभागिता रहेको थियो







प्रतिक्रिया राख्नुहोस्