तपाईँ सुन्दै हुनुहुन्छः

म्याद गुज्रेको ७२ टन भन्दा बढी चियापत्ती नष्ट

मकवानपुर । हेटौँडा स्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरको म्याद गुज्रिएको करिब ७३ टन चियापत्ती जिल्ला प्रशासन कार्यालय मकवानपुरले नष्ट गरेको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाको अगुवाइमा प्रशासनले हेटौँडा–३ स्थित युनिलिभर नेपाल लिमिटेडको चिया प्रशोधन केन्द्रबाट बरामद भएको ७२ हजार ८५६ किलो म्याद गुज्रिएको चिया पत्ति नष्ट गरेको हो ।

कार्यालयले २२२८ बोरा चिया मध्ये ३५ के जीका १८६२ र २१ केजीका ३६६ कोरा गरी कुल ७२ हजार ८६५ केजी चिया नष्ट गरेको जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले म्याद गुज्रिएको चिया पत्ति सोमबार हेटौँडा उपमहानगरपालिका–१० राप्तीखोला स्थित डम्पिङ साइडमा नष्ट गरेको हो । 

कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरको गत मङ्सिर १२ गतेको फैसला तथा पुस १८ गतेको फैसला अनुसार खाद्य नियमावली बमोजिम उक्त चिया पत्ति नष्ट गरेको जनाएको छ । 

खाद्य प्रविधि कार्यालयले गत भदौ १५ गते उद्योग अनुगमनका क्रममा उद्योगको चिया प्रशोधन केन्द्रबाट म्याद गुज्रिएका, लेबल स्पष्ट नभएका चिया पत्ति फेला परेपछि प्रशासनले उद्योगको चिया प्रशोधन केन्द्र सिल गरेको थियो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौँडा उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च तथा सञ्चारकर्मीहरूको रोहबरमा सिल काटेर उक्त चिया नष्ट गरेको हो । 

नष्ट गरिएको चियापत्तीको बजार मूल्य एक करोड ७९ लाख रुपैयाँ रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button