सहकारी बैङ्कको रोजाइमा कर्णाली, सुर्खेत र दैलेखमा एक अर्ब बढी लगानी

सुर्खेत । कर्णालीको उत्पादन क्षेत्रमा बैङ्क तथा वित्तीय संस्थाहरू लगानी विस्तार गर्न इच्छुक रहेको पाइएको छ ।
राष्ट्रिय सहकारी बैङ्कले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो १८ औँ वार्षिक साधारण सभाको पूर्व सन्ध्यामा पत्रकार सम्मेलन गरेर कर्णालीको उत्पादन क्षेत्रमा करिब एक अर्ब बढी रुपैयाँ लगानी गरेको जानकारी दिएको हो ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईँले कर्णालीमा जल, जङ्गल, जडीबुटी र पर्यटन क्षेत्रमा लगानीको पर्याप्त सम्भावना रहेकाले लगानी बढाउन सुर्खेत र दैलेखमा सीमित शाखाहरूलाई प्रदेशभरि क्षेत्र विस्तार गर्न लागेको बताउनुभयो । उहाँले सुर्खेत र दैलेखको उत्पादन क्षेत्रको वृद्धिका लागि बैङ्कले हालसम्म एक अर्ब बढी रुपैयाँ लगानी गरेको जनाउनुभयो ।
”कर्णालीमा हाल सुर्खेत र दैलेखमा दुई वटा मात्र शाखा छन् । लगानी क्षेत्र विस्तारका लागि यी अपर्याप्त छन्” उहाँले भन्नु भयो, ”अब प्रदेशका दश वटै जिल्लामा शाखा विस्तार स्वीकृतिका लागि राष्ट्र बैङ्कमा निवेदन दिएका छौँ । छिट्टै स्वीकृत हुनेमा हामी विश्वस्त छौँ ।”
उहाँले हाल सुर्खेत र दैलेखका ६ सय सहकारी मार्फत सङ्कलित निक्षेप ६८ करोड रुपैयाँ भए पनि १ अर्ब बढी लगानी गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैङ्कले सुर्खेत जिल्लाको उत्पादन तथा व्यापार प्रवर्द्धनका लागि ९० करोड बढी रुपैयाँ लगानी गरेको छ ।
”कर्णाली लगानीका लागि भर्जिन क्षेत्र भएकाले बैङ्कको पहिलो रोजाइमा परेको छ”, उहाँले भन्नुभयो, ”कम से कम जोखिम क्षेत्रमा लगानी बढाउँदै बैङ्क सामाजिक तथा आर्थिक रूपान्तरणको महत्त्वपूर्ण हिस्सेदार बन्न चाहन्छ ।”
उहाँले कोरोना महामारी तथा अन्य राजनीतिक अस्थिरता लगायतका कारणले ढिलाइ भए पनि प्रदेशको आर्थिक समृद्धिका लागि बैङ्क कर्णाली प्रदेश सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको जनाउनु भयो ।
बैङ्क यति बेला १८ औँ वार्षिक साधारण सभाको सङ्घारमा रहेकाले कर्णाली क्षेत्रका ६ सय वटा सहकारी सङ्घ/संस्थाका प्रतिनिधिसँग लगानी विस्तार तथा सम्भाव्यताका बारेमा छलफल गर्न सुर्खेत आएको उहाँको भनाइ छ ।
बैङ्कले आउँदो आर्थिक वर्षमा ३ अर्ब ५० करोड शेयर पुँजीसहित ७८ अर्ब १ करोड निक्षेप सङ्कलन गरी ४९ अर्ब लगानी गर्ने लक्ष्य राखेको छ ।
पत्रकार सम्मेलनमा बैङ्कका सञ्चालक तथा कर्णाली प्रदेश संयोजक हरिहरनाथ योगीले कर्णालीमा हाल पुँजीको अभाव रहेकाले बैङ्क बाहिरी लगानी कर्तालाई प्रदेशको उत्पादन क्षेत्रमा लगानी आकर्षित गर्न तयार रहेको बताउनुभयो ।
उहाँले लगानीको क्षेत्र पहिचानका लागि प्रदेश तथा स्थानीय सरकारहरूसँग समन्वय, सहयोग र सहकार्यका लागि निरन्तर छलफल तथा संवाद भइरहेको जनाउनु भयो ।
बैङ्क लगानीमा मात्र केन्द्रित नरहेर क्षमता विकास तथा प्राविधिक सहयोगमा समेत हात बढाउन तयार रहेको उहाँको भनाई थियो ।
बैङ्कका प्रमुख कर्जा अधिकृत प्रमोदकुमार घिमिरेले कम जोखिम क्षेत्रमा लगानी गरेर बैङ्क प्रदेशको सामाजिक तथा आर्थिक रूपान्तरणमा हातेमालो गर्न इच्छुक रहेको बताउनुभयो ।
उहाँका अनुसार बैङ्कसँग हाल लगानीका लागि पर्याप्त पुँजी मौज्दात रहेपनि कर्णालीमा लगानीको क्षेत्र खोजी रहेका छौँ ।







प्रतिक्रिया राख्नुहोस्