तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौं उपत्यकासहित १४ जिल्ला कोरोना सङ्क्रमणको अति प्रभावित क्षेत्र  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित १४ जिल्लालाई कोरोना सङ्क्रमणको अति प्रभावित क्षेत्रका रुपमा वर्गीकरण गर्दै बढी भिडभाड हुने स्थल र विद्यालय नजान आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले आज अपिल पत्र जारी गर्दै अति प्रभावित क्षेत्रका विद्यालय तथा भिडभाड हुने सबै स्थल, सेवाहरू सञ्चालन नगर्न र सर्वसाधारणलाई समेत सहभागी नहुनका लागि अपिल गरेको हो ।
उपत्यकाका तीन जिल्लासहित कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लूङ जिल्लालाई अति प्रभावित क्षेत्रका रुपमा राखिएको छ ।
मन्त्रालयले सबै अस्पतालहरूले अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्न, कोरोना परीक्षणका लागि नमुना सङ्कलन र परीक्षणको व्यवस्थापन गर्न आग्रह गरेको छ ।
सबै सरकारी अस्पतालहरूले कम्तीमा ५० प्रतिशत बेडहरू कोरोना सङ्क्रमितलाई व्यवस्थापन गर्न र विदेशी नागरिकहरूको पीसीआर नतिजा नेगेटिभ आएकालाई मात्रै होटलमा बास राख्न मन्त्रालयको आग्रह छ ।
No photo description available.
यसैबीच, आज देशभर ५ सय ३४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ४ हजार १ सय ५२ वटा नमुनाको परीक्षण गर्दा ५ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।
आज १ सय ५७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७४ हजार ६ सय ४ पुगेको छ ।
तथ्याङ्क अनुसार ९७ दशमलव ४ प्रतिशत सङ्क्रमित निको भइसकेका छन् ।
कोरोना सङ्क्रमणका कारण आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button