बारामा मापदण्ड विपरीत सञ्चालित ६ वटा औषधी पसल बन्द
बारा । औषधी व्यवस्था विभागले बारामा सञ्चालित ६ वटा औषधी पसले बन्द गराएको छ ।
महागढीमाई नगरपालिकाको बरियारपुर बजारमा सञ्चालित ६ वटा औषधी पसल तथा क्लिनिकले मापदण्ड पूरा नगरी सञ्चालनमा आएपछि बन्द गरिएको औषधी व्यवस्था विभाग बिरगंज कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बारा, औषधी व्यवस्था विभागको वीरगन्जस्थित कार्यालय र बरियारपुर प्रहरी चौकीको संयुक्त टोलीले बिहीबार बरियारपुर बजारमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा ती औषधी पसल तथा क्लिनिकहरूमध्ये कतिपयले नेपालमा प्रतिबन्धित औषधी राखेर बिक्री गर्ने गरेको, औषधी व्यवस्था दर्ता नभएको, सिएमए, एचएहरुले औषधी पसल सञ्चालन गरेको र म्याद गुज्रेका औषधी फेला परेको औषधी निरीक्षक दिपेन्द्र कुमार साहले बताउनुभयो ।
बन्द हुने औषधी पसलमा प्राथमिक स्वास्थ्य सेवा क्लिनिक, गोविन्द हेल्थ क्लिनिक, कुशवाह भेट फर्मा, सपना स्वास्थ्य क्लिनिक, तरुण भेट फर्मा र ठाकुर सर्जीकल रहेका छन् ।
औषधी बिक्री वितरण तथा स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा बनेका ऐन नियमहरूको पालना नगरेकाले बन्द गरिएको औषधी व्यवस्था विभागको वीरगञ्ज कार्यालयका निमित्त प्रमुख भाग्य नारायण सिंहले जानकारी दिनुभयो ।
मापदण्ड पूरा नगरी खोलिएकाले ६ वटा औषधी पसल तथा क्लिनिक बन्द गरिएको औषधी व्यवस्था विभागको वीरगञ्ज कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्