कैलालीमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु, ३ जना घाइते

टीकापुर कैलाली । कैलालीमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् । बसको ठक्करबाट लम्की–चुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरकी ३५ वर्षिया भागरथी रेग्मीको मृत्यु भएको छ ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ चमेलीपुरमा सु प प्र ०१००८ प.२३०९ नम्बर मोटरसाईकमा सवार रेग्मीलाई सोही दिशा तर्फ गइरहेको से १ प ९५७ नम्बरको बसले हिजो साँझ साढे ६ बजेतिर ठक्कर दिएको थियो ।
मोटरसाइकलका चालक लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापुरका राम बहादुर चौधरी घाइते भएका र उनको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बसका चालक ३६ वर्षीय खकेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनु भयो । रेग्मी नेपाली काँग्रेसकी कैलाली क्षेत्र नम्बर २ की क्षेत्रीय कोषाध्यक्ष समेत हुन् ।
यस्तै पूर्वपश्चिम राजमार्गको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का रंगप्रसाद न्यौपानेको मृत्यु भएको छ ।
न्यौपानेले चलाएको सु. प. प्र. ०१००८प. १६२५ नम्बरको मोटरसाइकल गए राति १२ बजेतिर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएपछि उपचारका लागि टीकापुर अस्पताल लगिएको र उनको उपचारकै क्रममा गए राती मृत्यु भएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
यस्तै मोटरसाइकलको पछाडि सवार लम्कीचुहा नगरपालिका १ कै ३९ वर्षीय जयप्रकाश न्यौपाने र ५० वर्षी जन्मजय न्यौपाने घाइते भएका छन् । उनीहरूको लालरत्न अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्