तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना महामारीकै बीच विद्यालय खुले, चौकुनेमा नियमित पठनपाठन सुरु

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ ।

कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका विद्यालय विस्तारै सञ्चालनमा आउन थालेका छन् ।

चौकुने गाउँपालिकाले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेको छ । चौकुने गाउपालिका क्षेत्र भित्रका रहेका विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको असोज ५ गते बसेको बैठकले अध्ययन तथा अध्यापन शुरु गर्ने सिफारिस गरेपछि गाउँपालिकाको ११ गते बसेको बैठकले असोज १२ गतेदेखि नियमित विद्यालय खोल्न निर्देशन दिएको हो ।

गाउँपालिकाको निर्देशनपछि चौकुनेका सबै सामुदायिक विद्यालयहरुले असोज १२ गतेदेखि नियमित विद्यालय सञ्चालनमा ल्याएका हुन् ।

विद्यालयलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर सोमवारबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेको विद्यालय सञ्चालनमा आएको चौकुने गाउँपालिकाले जानकारी दिएको छ ।

विद्यालय सञ्चालन गर्न यसअघि गाउँ शिक्षा समितिले शैक्षिक कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि विद्यालय व्यवस्थापन समिति, अभिभावकलगायत सरोकारवालासँग छलफल गरी आवश्यक स्वास्थ्य सुरक्षा विधि अपनाएर विद्यालय सञ्चालन गरेको वडा नं ८ नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोतिसेराका प्रधानाध्यापक जगत जोशीले बताउनुभयो ।

‘हामीले शिक्षण गर्दा भौतिक दूरी कायम गर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरी सोमवारबाट कक्षामा पठनपाठन सञ्चालन गरेकामा अझै पनि सबै विद्यार्थीलाई विद्यालयमा नआइसकेकाले सबैलाई ल्याउने प्रयत्न भइरहेको छ’, उहाँले भन्नुभयो ।

उहाँले बन्दाबन्दीका कारण विद्यालय बन्द हुँदा अवरुद्ध रहेको शिक्षण क्रियाकलापलाई भदौं १४ गतेबाट नै ‘टोल शिक्षा’ को रुपमा टोलटोलमा नै गएर पढाउँदै आएको बताउनुभयो । उहाँका अनुसार अहिले आएर सोमवारबाट प्रत्यक्षरुपमा कक्षामा नै आएर पढाउन थालेको प्रधानाध्यापक जोशीले बताउनुभयो ।

विद्यालय सञ्चालनमा आएपछि पहिलोपटक कक्षाकोठामा बसेर पढन् पाउँदा खुशी लागेको जीवन ज्योती माविका कक्षा ९ का छात्र धिरेन बयकले बताउनुभयो । ‘बन्दाबन्दीका बेलामा घरमा बस्दा आफैले किताबको उदाहरणहरु हेर्दै स्वअध्ययन गरिरहेको थिएँ तर त्यसरी पढ्दा नबुझेका कुराहरुमा धेरै समय अल्झिनुपरेको थियो’, उहाँले भन्नुभयो ।

परिस्थिति हिजोको भन्दा सहज नभए पनि मनस्थिति बलियो बनाएर आफूहरुले कक्षा सञ्चालन गरेको जीवन ज्योति मावि गुटुका प्रधानाध्यापक ओमबहादुर दर्लामीले बताउनुभयो ।

‘पढाउँदा भौतिक दूरी कायम राखेर मास्क अनिवार्य गराएका छौं’, उहाँले भन्नुभयो, ‘कोरोनासँग भागेर होइन, त्यसका विरुद्धमा लड्दै एउटा कक्षामा १० वटा बेञ्च राखेर दैनिक बिहान, दिउँसो र बेलुकाको सत्र बनाएर पठनपाठन शुरु गरेका छौं ।’

वडा नम्वर ८, का वडाध्यक्ष ताराकेशर सुवेदीले अभिभावकबाट नै अब पठनपाठन शुरु गर्नुपर्छ भन्ने खालको सुझाव आएपछि विद्यालय व्यवस्थापन समिति, अभिभावकसँग छलफल गरेर विद्यालय सञ्चालनमा ल्याएको बताउनुभयो ।

विद्यालय सञ्चालनमा आएसँगै गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले विद्यालय सञ्चालनको अवस्था र त्यहाँ भएको समस्याहरुका बारेमा अनुगमन गरी जानकारी लिने काम गर्दै आउनु भएको छ ।


लामो समयसम्म घरमै रहँदा विद्यार्थीमा हुनसक्ने मानसिक तनावलाई मध्यनजर गर्दै विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाभित्र सामुदायिक ३९ र संस्थागत ११ विद्यालय रहेका छन् ।

कसरी शुरु भयो पठनपान
कोभिड–१९, सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा काम गरिरहेकै बेला आम नागरिकको दैनिक जीवनलाई सहज बनाउन मानसिक तथा शारीरिक प्रशिक्षण अभियान व्यापक चलाइएको चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही बताउँनुहुन्छ । उहाँले कोरोना रोकथाम तथा नियन्त्रणमा धेरै हदसम्म नियन्त्रण गरिसकेपछि सर्वसाधारणको दैनिकलाई सहज बनाउँदै लगिएको बताउनुभयो ।

‘पहिलो चरणमा विद्यालयका शिक्षक, कर्मचारीलाई कोरोना भाइरस (कोभिड–१९) बारेमा स्वास्थ्य सुरक्षासँगै जागरुकता फैलाउने सम्बन्धि प्रशिक्षण दिइयो,’ उहाँले भन्नुभयो, ‘दोस्रो चरणमा त्यसरी तयार पारिएका जनशक्तिलाई योग तथा ध्यानलगायतका प्रशिक्षण दिएर मानसिक तथा शारीरिकरुपमा तयार पारियो ।’

उहाँका अनुसार प्रशिक्षणयुक्त शिक्षक, कर्मचारी तथा स्वयंमसेवकलाई विभिन्न गाउँहरुमा कोभिड–१९, सचेतना तथा सजगता, जनचेतना फैलाउन पुनः गाउँभरी परिचालन गरिएको थियो ।

उहाँले कोरोना नियन्त्रणका लागि लामो समयदेखि विद्यालय बन्द भएपछि फुर्सदिला बनेका विद्यार्थी तथा गाउँका अन्य युवाहरुलाई ‘टोल शिक्षा’ अभियानमार्फत उच्च स्वास्थ्य सुरक्षा अपनाउँदै टोल–टोलमै शिक्षक खटाएर पढाउन शुरु गरिएको बताउनुभयो ।

स्थिति सामान्य बन्दै गएपछि विद्यालयका प्रधानाध्यापकहरुकै सिफारिस एव अभिभावकको आग्रहमा विद्यालयमै नियमित पठनपाठन शुरु गरिएको उहाँको भनाइ छ ।

उहाँले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालनमा ल्याइपछि विद्यार्थी तथा शिक्षकमा समेत उत्साह बढेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button