तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान आजदेखि सुरु

कास्की I पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ।

विसं २०७९ पुस १७ (अङ्ग्रेजी नयाँ वर्ष) देखि सञ्चालनमा आएको यस विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईले सेवा सुरु गर्न लागेपछि स्थानीय पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन्।

उडानका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तथा सेवा व्यवस्थापनको काम पूरा भइसकेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६:१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७:१५ बजे पुनः दुबईतर्फ प्रस्थान गर्नेछ। अवतरणका क्रममा विमानलाई पोखरा विमानस्थलमा ‘वाटर क्यानन सल्युट’ (पानीको फोहरा) ले स्वागत गरिनेछ।

अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल पूर्ण तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताउनुभयो। “हामी आजको ऐतिहासिक दिनको पर्खाइमा थियौँ। विमानस्थल सञ्चालनयता केही वायुसेवा कम्पनीले आंशिक उडान गरे पनि तिनले निरन्तरता पाउन सकेका थिएनन्। अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेकाले हामी निकै उत्साहित छौँ,” उहाँले भन्नुभयो।

फ्लाई दुबईमार्फत पोखरा आउने र जाने यात्रु तथा पर्यटकलाई पोखराका पर्यटन व्यवसायीले खादा र माला लगाएर स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन्।

यसैगरी पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले राजस्व सङ्कलन, वैध व्यापार सहजीकरण, यात्रु जाँचपास तथा निकासी-पैठारीका लागि आवश्यक सम्पूर्ण तयारी मिलाइसकिएको बताउनुभयो।

दुबई विश्वव्यापी हवाई ट्रान्जिट हब हुनुका साथै फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा उडान भर्ने भएकाले यो सेवा दीर्घकालीन हुने आशा पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले व्यक्त गर्नुभयो। “नेपाली युवा रोजगारी तथा अध्ययनका लागि दुबई जाने क्रम उच्च रहेकाले यो उडानले सर्वसाधारण र पर्यटक दुवैलाई ठूलो राहत पुग्नेछ,” उहाँले भन्नुभयो।

उडान सञ्चालनका लागि आवश्यक शान्तिसुरक्षाको प्रबन्धबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण गरिसकेको छ। प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थल क्षेत्रमा सुरक्षाको पूर्ण व्यवस्था मिलाइएको जानकारी दिनुभयो। रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button