बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा थप राहत र सञ्चार सुविधा घोषणा
काठमाडौँ । नेपाल टेलिकमले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रत्यक्ष प्रभावित क्षेत्रका नागरिक तथा प्रमुख राजमार्ग क्षेत्रका बासिन्दालाई लक्षित गरी विभिन्न राहत, सञ्चार सुविधा तथा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ।
कम्पनीका अनुसार रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँ जिल्लाका बाढी प्रभावित क्षेत्रका साथै पृथ्वी राजमार्गअन्तर्गत गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी र मुग्लिन–नारायणगढ सडक क्षेत्र आसपासका नागरिकलाई राहत तथा सञ्चार सुविधा प्रदान गर्न विशेष व्यवस्था मिलाइएको हो।
सञ्चार तथा इन्टरनेटमा छुट र सुविधा
नेपाल टेलिकमले बाढीका कारण क्षति भई पुनः प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका एनटी फाइबर (NT Fiber) केबल र राउटर निःशुल्क उपलब्ध गराएर जडान गरिदिने जनाएको छ। साथै, सेवाको समयावधि सकिएका ग्राहकका लागि ३ महिनाको समय निःशुल्क थपिने छ।
बाढी प्रभावित ग्राहकको हराएको वा क्षति भएको सिमकार्ड पुनः वितरण गर्ने व्यवस्था गरिएको छ। त्यसका लागि पाँचवटा सम्पर्क गरिएका नम्बर (Last 5 Dialed Numbers) उपलब्ध गराउनुपर्ने, ती नम्बरको अन्तिम लोकेसन बाढी प्रभावित क्षेत्रमै हुनुपर्ने र सम्बन्धित ग्राहकले यथाशीघ्र केवाइसी (KYC) अद्यावधिक गर्नुपर्ने सर्त राखिएको छ।
उद्धार, समन्वय र निःशुल्क पूर्वाधार सहयोग
बाढीका कारण विभिन्न स्थानमा फसेका व्यक्तिहरूसँग सञ्चार सम्पर्क कायम राख्न नेपाली सेनाको समन्वयमा २१० थान प्याकेजसहितका सिमकार्ड उपलब्ध गराइएको छ। ती सिमकार्डको अभिलेख व्यवस्थित रूपमा राखिनेछ।
त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मुख्य सर्भर (Main Server) र ब्याकअप सर्भर (Backup Server) बीच निःशुल्क कनेक्सन स्थापनाका लागि कम्पनीले डार्क फाइबर (Dark Fiber Physical Connectivity) उपलब्ध गराएको छ।
नागरिकलाई प्राथमिक मनोवैज्ञानिक सहयोग तथा मनोपरामर्श दिन श्री मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (CMC-Nepal) को टोल फ्री नम्बर १८१०५०००४०२ मा ३ महिनासम्मको मासिक बिल पूर्ण रूपमा मिनाहा (निःशुल्क) गरिएको छ।
सरकारी तथा राहत केन्द्रहरूमा निःशुल्क उच्च गतिको इन्टरनेट
कम्पनीले जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा नेपाल प्रहरी विपद् उद्धार एवम् प्रतिकार्य तालिम केन्द्र र सामाखुशीस्थित राधास्वामी सत्संग व्यास नेपालमा १ महिनाका लागि १०० Mbps क्षमताको निःशुल्क इन्टरनेट सेवा जडान गरेको छ।
साथै, जिल्ला प्रशासन कार्यालय भरतपुरको विपद् व्यवस्थापन युनिटका लागि १ वर्षका लागि १०० Mbps को इन्टरनेट र रसुवा जिल्लाको विपद् प्रभावित क्षेत्रको सूचना, क्षति विवरण, फोटो-भिडियो तथा तथ्याङ्क समयमै सङ्कलन र प्रवाह गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ वर्षका लागि उच्च गतिको निःशुल्क इन्टरनेट तथा प्राविधिक सहयोग उपलब्ध गराइएको छ।
कम्पनीले बाढी प्रभावित क्षेत्रको राहत, उद्धार र पुनर्स्थापनाका लागि आफ्ना कर्मचारीको योगदानसहित विभिन्न शीर्षकमा यसअघि नै झन्डै २० करोड रुपैयाँ सहयोग उपलब्ध गराइसकेको र बाढीबाट क्षति पुगेका करोडौँ मूल्यका दूरसञ्चार पूर्वाधारहरूको पुनर्निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाएको जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्