धनुषामा ३८८ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । धनुषामा लामो समयदेखि जग्गाधनी प्रमाण पुर्जाविहीन रहेका धनुषाका क्षिरेश्वर नगरपालिकाका ३८८ परिवारलाई आज जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ ।
नापनक्सा सम्पन्न भएर दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको समस्या समाधान गर्दै नापी कार्यालय धनुषाले उक्त जग्गा धनी प्रमाणपूर्जा वितरण गरेको हो ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नंं १ का ३ सय ८८ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । साविक रमदैया भवाडी गाविस अन्तर्गत वडा नम्बर २, ३, ४, ६, ७ र ८ का ती परिवारलाई पुर्जा वितरण गरिएको नापी कार्यालयले जनाएको हो । उक्त क्षेत्रको नाप नक्सा भने २०७४ सालमै सम्पन्न भएको नापी कार्यालयले जनाएको छ ।
भोली शनिबार क्षिरेश्वरनाथ नगरपालिका–२ का २ सय ४२ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने तयारी गरिएको छ । साविक रमदैया भवाडी गाविसअन्तर्गत वडा नम्बर १, ५ र ९ मा पर्ने उक्त क्षेत्रको पनि नाप नक्सा २०७४ सालमै सम्पन्न भएको थियो ।
असोज महिना भित्रमा क्षिरेश्वरनाथ नगरपालिका–१ र २ का गरी ६ सय ३० परिवारले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्ने भएका छन् ।
नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले नापनक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसकेका स्ववासी तथा गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै जग्गाधनी प्रमाणपूर्जा वितरण कार्यक्रम अघि बढाइएको बताउनुभयो ।
वर्षौंदेखि जग्गाको स्वामित्व स्थापित हुन नसकेका परिवारले कानुनी रूपमा आफ्नो जग्गाको स्वामित्व कायम गर्ने आधार पाएपछि स्थानीयबासी निक्कै खुशी भएका छन् । यसले भूमिसम्बन्धी समस्या समाधान तथा व्यवस्थित बसोबासलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको छ ।
यसका साथै जग्गा धनी प्रमाणपूर्जा प्राप्त भएपछि बैङ्क तथा वित्तीय संस्थामा जग्गा धितो राखेर ऋण लिन, कानुनी प्रक्रियाअनुसार जग्गा बिक्री वितरण गर्न तथा राज्यलाई राजस्व प्राप्त हुने आधार तयार हुने कार्यालय प्रमुख उमेश कुमारले बताउनुभयो ।
नापी कार्यालय धनुषाले नापनक्सा सम्पन्न भइसकेका तर दर्ता प्रक्रिया बाँकी रहेका जिल्लाका अन्य गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको विवरण अध्ययन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जग्गा धनी प्रमाणपूर्जा वितरण गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्