उदयपुरमा कांग्रेसको वडा अधिवेशन सुरु
उदयपुर । नेपाली कांग्रेस उदयपुरले जिल्लाका अधिकांश वडामा वडा अधिवेशन सुरु गरेको जनाएको छ । जिल्लाका ७५ वडामध्ये अधिकांश वडामा आज हर्षोल्लासका साथ अधिवेशन सुरु भएको जिल्ला सभापति हिमाल कार्कीले जानकारी दिनुभयो ।

सभापति कार्कीका अनुसार अधिवेशनबाट जिल्लाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरिएको छ । आज अधिवेशन हुन नसकेका वडामा भने भोलि अधिवेशन गरिने उहाँले बताउनुभयो ।
केन्द्रमा नेपाली कांग्रेसको आधिकारिकता र अधिवेशनको समय तालिकालाई लिएर नेतृत्वबिच विवाद भइरहेका बेला उदयपुरमा भने गगन थापा पक्षका नेता तथा कार्यकर्ताको सहभागितामा वडा अधिवेशन सुरु भएको हो ।
जिल्ला सभापति कार्कीले केही नेता–कार्यकर्ता अन्योलका कारण आजको अधिवेशनमा सहभागी नभए पनि जिल्लाका अधिकांश नेता तथा कार्यकर्ता वडा अधिवेशनमा सहभागी भएको दाबी गर्नुभयो ।
यता, काँग्रेसभित्रको केन्द्रीय विवादको प्रभाव उदयपुरमा समेत देखिएको छ । कांग्रेसका केही नेता तथा कार्यकर्ताले भने आगामी असोज १५ गते वडा अधिवेशन गर्ने तयारी गरिरहेका छन् ।
केन्द्रमा गगन थापा र शेरबहादुर देउवा पक्षबीच अधिवेशनको आधिकारिकता र समय तालिकालाई लिएर विवाद जारी रहँदा देशभर थापा पक्षले आज र भोलि वडा अधिवेशन गर्ने तयारी गरेको छ भने देउवा पक्षले असोज १५ गते वडा अधिवेशन गर्ने तयारी गरिरहेको छ ।
यससँगै उदयपुर काँग्रेसमा आज सुरु भएको वडा अधिवेशन र असोज १५ गते गर्ने भनिएको अर्को अधिवेशनलाई लिएर पार्टीको तल्लो तहसम्मै दुई फरक धार देखिन थालेको छ ।








प्रतिक्रिया राख्नुहोस्