रुकुमपूर्व अस्पतालको अक्सिजन प्लान्ट पाँच वर्षदेखि प्रयोगविहीन
रुकुमपूर्व। कोरोना महामारीका बेला अक्सिजन अभाव टार्न रुकुमपूर्व अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट पाँच वर्ष बितिसक्दा पनि अपेक्षाअनुसार सञ्चालनमा आउन सकेको छैन। अस्पताल परिसरमै अक्सिजन उत्पादन गर्ने संरचना तयारी अवस्थामा रहे तापनि आवश्यक पर्दा पोखरा र भैरहवाजस्ता बाहिरी जिल्लाबाट सिलिन्डर ल्याउनुपर्ने बाध्यता कायमै छ। लाखौँ रुपैयाँ खर्च गरेर जडान गरिएको प्लान्ट नियमित सञ्चालनमा नआउँदा सरकारी लगानीको प्रतिफलमाथि प्रश्न उठेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ मा रुकुमपूर्व अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। टेन्डर प्रक्रियामार्फत करिब ७२ लाख रुपैयाँको लागतमा प्लान्ट जडान गरिएको अस्पतालको अभिलेखमा उल्लेख छ। प्लान्ट जडान गर्दा दैनिक ४० लिटर क्षमताका ३० देखि ३२ वटा सिलिन्डर भर्न सक्ने क्षमता रहेको बताइएको थियो। तर, अहिले अस्पतालमा बिरामीलाई अक्सिजन आवश्यक पर्दा बाहिरबाटै सिलिन्डर ल्याउनुपर्ने अवस्था छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खरालका अनुसार अस्पतालमै अक्सिजन उत्पादन गर्न सकिए उपचार सेवा सञ्चालनमा सहज हुनेछ। “यहाँ अक्सिजन उत्पादन भए धेरै सहज हुने थियो, बिरामीको चाप बढिरहेको छ। आवश्यक पर्दा बाहिरबाट सिलिन्डर ल्याउनुपर्ने अवस्था छ,” उहाँले भन्नुभयाे।
अक्सिजन अभाव समाधान गर्ने उद्देश्यले स्थापना गरिएको प्लान्ट अस्पताल परिसरमै छ। लुम्बिनी प्रदेश सरकारका अभिलेखमा समेत रुकुमपूर्व अस्पतालमा अक्सिजन प्लान्ट, पाइपलाइन र ट्यांकी जडान गरिएको उल्लेख छ। तर जडान भएको पाँच वर्ष बितिसक्दा पनि प्लान्टबाट नियमित अक्सिजन उत्पादन हुन सकेको छैन। उपकरण, पाइपलाइन तथा प्रेसर प्रणालीका संरचना प्रयोगविहीन अवस्थामा रहेको स्थानीय कृष्ण खड्काले बताउनुभयाे। “यति ठूलो रकम खर्च गरेर बनाइएको प्लान्ट नियमित चल्न नसक्नु राज्यको सम्पत्ति खेर जानु हो,” उहाँले भन्नुभयाे।

डा. खरालका अनुसार आफू अस्पतालमा आएपछि बन्द अवस्थामा रहेको प्लान्टलाई सञ्चालनमा ल्याउने प्रयास गरिएको भए पनि अझै पनि अस्पताल बाह्य आपूर्तिमै निर्भर छ। यसबीच अस्पतालको भौतिक तथा सेवा संरचना भने विस्तार भई ५० शय्यासम्म पुगेको छ र नयाँ भवनबाट सेवा सुरु भइसकेको छ।
रुकुमपूर्वजस्तो भौगोलिक रूपमा विकट जिल्लामा अक्सिजनको नियमित उपलब्धता अस्पताल सेवाको आधारभूत आवश्यकता हो। बाहिरबाट सिलिन्डर ल्याउँदा ढुवानी खर्च मात्र नभई समय र आपूर्ति व्यवस्थापनको जोखिमसमेत थपिने गर्दछ। सडक अवरुद्ध हुने वा आपूर्तिमा ढिलाइ हुने अवस्थामा त्यसको प्रत्यक्ष असर बिरामीको उपचार सेवामा पर्न सक्ने देखिन्छ।
यसैबीच, सिस्ने गाउँपालिका–५, रुमालबारा जोड्ने सडकबाट आएको बर्खे भलले अस्पताल परिसरमा रहेको अक्सिजन प्लान्टमा क्षति पुर्याएपछि अस्पतालले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको थियो। प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार जोखिमयुक्त स्थानमा रहेको अक्सिजन प्लान्टलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। त्यसका लागि आवश्यक विद्युत् व्यवस्था र प्राविधिक जनशक्तिसँग समन्वय भइरहेको उहाँले बताउनुभयाे।
यता सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले भने बर्खाको भलले प्लान्ट पूर्ण रूपमा बिगारेको अवस्था नरहेको र यो विगतका वर्षदेखि नै प्रयोगमा नरहेको बताउनुभयाे। अक्सिजन प्लान्ट जिल्लाकै स्वास्थ्य सेवासँग जोडिएकाले गाउँपालिकाले पनि जनशक्ति परिचालन गरी आसपास थुप्रिएको माटो हटाउने काम सुरु गर्ने र सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
अस्पताल, जिल्ला प्रशासन कार्यालय र सिस्ने गाउँपालिका बीचको समन्वयमा प्लान्टलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक प्राविधिक तथा विद्युत् व्यवस्थापन पूरा गरेर पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।








प्रतिक्रिया राख्नुहोस्