दोस्रो एकदिवसीय अभ्यास खेल: नेपालको लगातार दोस्रो जित

काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले दोस्रो एकदिवसीय अभ्यास (एसिसी प्रिमियर कपको अभ्यास) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा नेपालले आज त्यहाँको कर्नाटक राज्यस्तरीय टोलीलाई पाँच विकेटले हरायो ।
आजको खेलमा कर्नाटकले दिएको २४३ रनको लक्ष्य नेपालले ४४ दशमलव तीन ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा मध्यक्रमका ब्याटर देव खनालले शतकीय पारी खेले । उनले ११३ बलमा चार चौका र दुई छक्कासहित अविजित १०० रनको पारी खेलेका हुन् ।
आसिफ शेखले ३८, सन्दीप जोराले ३०, अर्जुन कुमालले २६ र रोहितकुमार पौडेलले १२ रन जोडे । अविजित रहेका बसिर अहमदले अविजित २२ रन बनाए । कर्नाटकका लागि बलिङतर्फ एल बन्नुर, आदित्य गोयल, अरविन्दकुमार राई, रितेश भटकल र चीरन्थ शिवरुद्रले समान एक/एक विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४२ रन बनाएको थियो । उसका लागि शरथ श्रीनिवासले ४८, सहर्ष रेड्डीले ४३ रन, रितेश भट्कलले ३७, समर्थ श्रीनिवासले ३२ र फैजान खानले २० रन बनाएका थिए ।
नेपालका लागि बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान तीन/तीन तथा हेमन्त धामीले दुई विकेट हात पारे । कर्नाटकविरुद्धको पहिलो अभ्यास खेलमा नेपालले ११६ रनको जित निकालेको थियो ।
नेपाली टिम केही दिन थप अभ्यास गरेर भारतबाटै प्रिमियर कप खेल्न मलेसिया प्रस्थान गर्ने तालिका छ । प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेलमा भदौ १५ गते बहराइनविरुद्ध खेल्नेछ । रासस








प्रतिक्रिया राख्नुहोस्