तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टद्वारा मन्त्रिमण्डल बिस्तार

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ । 

मुख्यमन्त्री भट्टले नेकपाका तीन जना मन्त्री र दुई जना र राज्यमन्त्री समेटेर दोस्रो पटक मन्त्रिपरिषद् बिस्तार गर्नुभएको हो । 

प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रकाश रावल उद्योग पर्यटन वन तथा वातावरण मन्त्री, ओमविक्रम भाट भौतिक पूर्वाधार मन्त्री, खुशीराम चौधरी आन्तरिक मामिला तथा कानुन मन्त्री रहनु भएको छ । यस्तै जानकी पौड्याल कुवर र इन्दिरा गिरीलाई राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।

मुख्यमन्त्री भट्टले यसअघि साउन २९ गते सत्ता गठबन्धन दल नेकपा एमालेका तीन जना मन्त्री र एक राज्यमन्त्री समेटेर मन्त्रिमण्डल बिस्तार गर्नुभएको थियो । वर्तमान मन्त्रीमण्डलमा चक्र बहादुर मल्ल आर्थिक मामिला मन्त्री, सन्तोष शर्मा थापा सामाजिक विकास मन्त्री, दमन बहादुर भण्डारी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी ऐर बम आर्थिक मामिला राज्यमन्त्री रहनुभएको छ ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेबिच सत्ता गठबन्धन छ। यसैबिच, आजै प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त तीनै जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो । यसैगरी नवनियुक्त राज्यमन्त्री द्वयले मुख्यमन्त्री खगराज भट्ट समक्ष पद तथा गोपनीयताको सपथ लिनुभयो ।

समारोहमा सभामुख, पूर्वमुख्यमन्त्री, मन्त्रिगण, प्रदेशसभा सदस्य, सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button