तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाह पोखराबाट हेलिकप्टरमार्फत मुस्ताङ जानुहुँदै

पोखरा । निजी भ्रमणका क्रममा पोखरा आउनु भएको प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बास बस्नु भएको छ । प्रधानमन्त्री शाह दिउँसो सडकमार्ग हुँदै निजी गाडीमा पोखरा आइपुग्नु भएको हो ।

पोखरा आइपुगेपछि उहाँ स्थलमार्गबाटै अस्तामस्थित अन्नपूर्ण इको भिलेज पुग्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शाह शनिबार मुस्ताङ जाने कार्यक्रम रहेको छ । पोखराबाट हेलिकप्टरमार्फत मुस्ताङ जाने गरी आवश्यक तयारी गरिएको श्रोतले जनाएको छ । उहाँ मुस्ताङ भ्रमण सकेर आइतबार पोखरा हुँदै फर्कने कार्यक्रम तय गरिएको श्रोतले उल्लेख गरेको छ ।

प्रधानमन्त्री शाह श्रीमती सविना काफ्ले र छोरीसहित निजी भ्रमणमा पोखरा आउनु भएको हो । ग्रामीण परिवेशमा रहेको अन्नपूर्ण इको भिलेजबाट मौसम खुलेको समयमा अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ भने त्यहाँबाट पोखराको हेमजा बजार लगायत आसपासका क्षेत्रको दृश्यसमेत अवलोकन गर्न सकिन्छ । प्रधानमन्त्री शाह अस्तामस्थित इको भिलेजमा पुगिसकेको सुरक्षा निकायले पुष्टि गरेको छ । उहाँको आगमनसँगै इको भिलेज र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्रीको बसाइका कारण इको भिलेजमा अन्य पर्यटकका लागि बुकिङसमेत नलिइएको स्रोतले जनाएको छ ।

सुरक्षा निकायका एक अधिकारीका अनुसार प्रधानमन्त्रीको भ्रमण निजी भएकाले उहाँको पोखरा आगमनअघि सुरक्षा निकायलाई औपचारिक जानकारी थिएन । उहाँ पोखरा आइपुगेपछि मात्र भ्रमणबारे सुरक्षा निकायलाई जानकारी गराइएको थियो । प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणका क्रममा त्यहाँका विभिन्न क्षेत्रको अवलोकन तथा भेटघाटसमेत हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button