तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटनलाई वातावरणमैत्री बनाउन ‘हरित आतिथ्य सेवा’ बारे छलफल

काठमाडौँ । नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन र अतिथि सत्कार (हस्पिटालिटी) क्षेत्रलाई वातावरणमैत्री र दिगो बनाउन ‘हरित आतिथ्य सेवा मापदण्ड’ निर्माणबारे छलफल सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज ‘ग्रीन हस्पिटालिटी स्ट्यान्डर्ड’ (होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा पर्यटन क्षेत्रमा वातावरणमैत्री अभ्यासहरू अपनाएर सञ्चालन गरिने मापदण्ड) विषयमा आयोजित छलफलमा वक्ताहरूले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रलाई वातावरणमैत्री, दिगो र जिम्मेवार बनाउन ‘हरित आतिथ्य सेवा मापदण्ड’ आवश्यक रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले पर्यटन र आतिथ्य सेवामा देखिएका वातावरणीय चुनौतीलाई सम्बोधन गर्न ‘हरित आतिथ्य सेवा मापदण्ड’ आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालले विगतमा रियो सम्मेलन र ब्रुन्टलैण्ड कमिसनका क्षेत्रमा गरेको प्रतिबद्धता पूरा गर्न पर्यटन र आतिथ्य क्षेत्रमा अन्तरराष्ट्रियस्तरको हरित मापदण्ड लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटन मन्त्रालयकी सहसचिव एवं पर्यटन महाशाखा प्रमुख इन्दु घिमिरेले आतिथ्य सेवालाई वातावरणमैत्री बनाउन सकिएमात्र पर्यटक आगमन वृद्धि हुने भएकाले सरकारले यस सेवामा मापदण्ड निर्माण गर्न लागेको बताउनुभयो । नेपालले आगामी वर्षलाई आरोग्य पर्यटन वर्षका रूपमा घोषणा गरिसकेको भन्दै उक्त कार्यक्रमलाई सफल बनाउनका लागि यस्ता मापदण्डले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले पर्यटन उद्योगको दिगोपनाका लागि हरित आतिथ्य सेवा आवश्यक रहेको बताउनुभयो । उहाँले हरित मापदण्डले तारे होटल र रिसोर्टमात्र नभई रेष्टुरेन्ट र घारबासलाई समेत समेट्ने भएकाले यसमा गहन छलफल र बहस हुनुपर्नेमा जोड दिनुभयो ।

सरकारले यसअघि निर्माण गरेको ‘नेपाल होटल स्ट्यान्डर्ड’ (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभागले होटल तथा रिसोर्टका लागि निर्धारण गरेको वर्गीकरण र गुणस्तरसम्बन्धी मापदण्ड) लाई ग्रीन हस्पिटालिटीसँग जोडेर अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।

बागमती प्रदेश पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले ‘हरित आतिथ्य सेवा मापदण्ड’ निर्माण गर्दा तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो । प्रदेश सरकारले पर्यटन रणनीति निर्माणमा पर्यावरणमैत्री होटललाई समावेश गरेको उहाँको भनाइ छ ।

नेपालमा हरित आतिथ्य मापदण्डबारे जानकारी गराउँदै मुख्य परामर्शदाता डा अनुकुमारी लामाले ‘ग्रीन हस्पिटालिटी स्ट्यान्डर्ड’अन्तर्गत आतिथ्य सेवाले विद्युत् खपत घटाउने प्रविधिको प्रयोग, पानीको प्रभावकारी व्यवस्थापन, प्लास्टिकको प्रयोग न्यूनीकरण, फोहरलाई छुट्याएर पुनःप्रयोग तथा पुनर्चक्रण गर्ने व्यवस्था र स्थानीय उत्पादनको प्रयोगलाई प्रोत्साहन गरिनेलगायत विषय समेट्ने बताउनुभयो ।

होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहले ‘हरित आतिथ्य सेवा मापदण्ड’ले नेपालको पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले उक्त मापदण्ड लागू गर्दा सरकारबाट निजी क्षेत्रलाई प्रोत्साहन हुनुपर्ने उल्लेख गर्नुभयो ।

नेपालको होटल क्षेत्रमा हालसम्म रु दुई २ खर्बभन्दा बढी लगानी भइसकेको बताइएको छ ।  देशभर हाल करिब १२ हजार ४५ होटल, रिसोर्ट र घरबास सञ्चालनमा छन् । जसको क्षमता एक लाख १६ हजारभन्दा बढी कोठा र दुई लाख १९ हजारभन्दा बढी शय्या (बेड) छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button