रेडियो नेपालमा सेवा निवृत्त महिला कर्मचारीको बिदाइ

काठमाडौँ । रेडियो नेपालमा कार्यरत महिलाहरूको साझा संस्था दिदीबहिनी समूहले पछिल्लो समयमा सेवा निवृत्त महिला कर्मचारीको विदाई कार्यक्रम आयोजना गरेको छ ।
समूहले वरिष्ठ लेखा अधिकृत लिला निरौला, वरिष्ठ सम्पादक रचना श्रेष्ठ, वरिष्ठ कार्यक्रम अधिकृत उषा लोहनी, शेर्पा भाषाको समाचार वाचक मिङमा शेर्पा, कार्यालय सहयोगीहरू कृष्णमाया धमला र नारायणी नेपालीलाई समूहले विदाई तथा मायाको चिनो उपहार प्रदान गरेको हो ।

बिदाइ कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यातले सार्वजनिक सेवा प्रसारण नेपालमा लामो समय काम गरेर सेवा निवृत्त भएका अग्रजहरूको अनुभव आदानप्रदान कार्यक्रम गरिने जानकारी दिनुभयो ।
यस अवसरमा उहाँले सार्वजनिक सेवा प्रसारणका विषय वस्तु र जनशक्ति दुवैमा लैङ्गिक समानता आवश्यक भएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कायममुकायम प्रमुख अधिकृत आरती चटौतले महिलाहरू दोहोरो जिम्मेवारी पूरा गरेर पनि कार्यस्थलमा अब्बल नेतृत्व स्थापित गर्न सक्षम भएको भन्दै अब कुनै पनि महिलाले लैङ्गिक विभेद सहेर बस्न नहुनेमा जोड दिनुभयो ।

त्यसैगरी वरिष्ठ गायिका मिरा राणा, वरिष्ठ रेडियोकर्मी धना लामा, रचना श्रेष्ठ र उषा लोहनीले रेडियो नेपाल प्रसारणको इतिहासमा महिला कर्मचारीको महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो ।

कार्यक्रममा दिदीबहिनी समूहकी अध्यक्ष प्रज्ञा शरदले सार्वजनिक सेवा प्रसारण नेपालको नवनियुक्त कार्यबहाक अध्यक्ष उर्वशी बस्न्यात र कायममुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौतलाई स्वागत तथा सम्मान व्यक्त गर्नुभयो ।
यस अवसरमा नजिकिँदै गरेको तिजको शुभकामना आदानप्रदान पनि गरिएको थियो ।









प्रतिक्रिया राख्नुहोस्